झापा

झापाको सदरमुकाम रहेको भद्रपुरमा मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

नगरपालिकाको नगर युवा परिषदको आयोजनामा मंगलबार विहान भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किच्चकबधसम्म पुरुष र भद्रपुर नगरपालिका कार्यालय अगाडिबाट किच्चकवधसम्म महिलाहरुको हाफ म्याराथन हुने भएको हो ।

भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आज भएको सर्वपक्षीय बैठकमा नगर युवा परिषदले म्याराथन तयारीका बारे जानकारी गराएको छ । नगरपालिकामा क्रियाशील संघ–संस्था र क्लवहरुको सहयोगमा म्याराथन दौड प्रतियोगिता सम्पन्न गरिने नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए ।

एथलेटिक्सको नियम अनुसार गराइने प्रतियोगिताका लागि एथलेटिक्स प्रशिक्षक ागेपाल यादव र कुमार श्रेष्ठले सहजीकरण गर्ने बताइएको छ । 

स्वस्थ समाज निर्माणमा युवाको सहभागिता र सक्रियता सुनिश्चित गर्ने उद्देश्यले पनि आयोजना गर्न लागिएको प्रतियोगितामा दुबै समूहबाट प्रथम हुनेले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेलाई नगद ५ हजार पुरस्कारसहित मेडल–ट्रफी प्रदान गरिने नगरप्रमुख पोखरेलले जानकारी दिए ।