बिर्तामोड, ३१ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज झापा गाउँपालिकाका बाढी पीडित सदस्यलाई राहत वितरण गरेको छ ।

कामटोली बजारमा एक कार्यक्रमका बीच संस्थाले १२५ सदस्य घरपरिवारलाई राहत वितरण गरेको हो । झापाका गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, संस्थाका अध्यक्ष सुवास

भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, कोषाध्यक्ष मेहरमान विष्ट लगायतले बाढी पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । संस्थाले प्रतिपरिवार २५ केजी चामल वितरण गरेको हो ।

IMG-20251017-WA0021

बाढी पीडितलाई गाउँपालिकाले बिना भेदभाव राहत वितरण गरेको बताउनुहुँदै कार्यवाहक अध्यक्ष थपलियाले असहज परिस्थितिमा सिम्रिक सहकारीले बाढी पीडितलाई राहत दिनु प्रसंशनीय कार्य भएको उल्लेख गर्नुभयो । 

त्यस्तै, संस्थाका कार्यकारी प्रमुख बस्नेतले समुदायस्तरका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा एकद्वार प्रणालीबाट झापा गाउँपालिकाका ३० परिवारलाई यसअघि नै राहत वितरण गरिएको जानकारी दिनुभयो । 

संस्थाले इलामको महमाई नगरपालिकाका पहिरो पीडित ११ परिवार, गौरीगञ्ज गाउँपालिकाका बाढीपीडित १२ सदस्य परिवार राहत वितरण गरिसकेको उहाँले बताउनुभयो ।

इलाममा १४ बाढी–पहिरो पीडित परिवारलाई शनिबार राहत वितरण गरिर्ने कार्यतालिका रहेको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । 

त्यस्तै, संस्थाले जिल्ला समन्वय समिति इलाम मार्फत् ५० हजार रुपैयाँ बाढी–पहिरो प्रभावित परिवारको पुनस्र्थापनामा सहयोग गरिसकेको छ ।

त्यस्तै, सिम्रिक सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक वर्ष विविध कार्यक्रम गरिरहेको बताउँदै संस्थाका अध्यक्ष भट्टराईले सिम्रिकले शिक्षा, कृषि, स्वास्थ्यको क्षेत्रमा संस्थाले काम गर्दै आइरहेको बताउनुभयो ।

उहाँले बाढी पहिरोबाट प्रभावित इलाम र झापामा जिल्ला प्रशासन कार्यालयमार्फत् छुट्टै सहयोग उपलब्ध गराइएको र संस्थाका सदस्य केन्द्रित अलग्गै राहत वितरण कार्य गरिएको जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा कामाटोली सेवा केन्द्रका प्रमुख गंगाकुमार मण्डल, संस्थाका आइटी विभाग प्रमुख यामबहादुर विष्ट, लघुवित्त विभाग प्रमुख परमानन्द राजवंशी लगायतको उपस्थिति रहेको थियो ।