तिहारमा झापामा पटेका पड्काउन तथा लङ्गुरबुजा खेल्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले असोज २७ गते एक सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईद्वारा हस्ताक्षरित सूचनामा मुलुकी अपराध संहिंता २०७४ को दफा १२५ तथा जुवा ऐन २०२० ले जुवाजन्य गतिविधिहरु जुवातास, हाउजी ,डाइस ÷लङ्गुरबुर्जा ,सट्टाबाजी आदि पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरेको छ ।
जिल्ला प्रशासनले यी यस्ता गतिविधिहरु हुँदै गरेको जनगुनासो आएपछि सूचना जारी गरेर त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । झापा जिल्लामा प्रहरी कार्यालय झापामार्फत यस्ता गतिविधि भए रोक्नका लागि निर्देशन समेत दिइएको छ।
तर झापामा अहिले खुलेआम रुपमा जुवाजन्य खेलहरु मुख्य मुख्य सहर बजारहरुमा खेलाइँदै आएको छ। तिहार अघिदेखि नै डाइस निर्वाध रूपमा झापामा खेलाइँदै आएको हो। अहिले पनि प्रहरीकै मिलेमत्तो सेटिङमा जुवाजन्य खेल खेलाइँदै आएको छ ।
झापाको बिर्तामोड ३ स्थित बिर्ताबजार र सैनिक मोडमा गरेर चार ठाउँ डाइस खेलाइँदै आएको छ। बिर्ता बजार चौकीका इन्चार्ज असई पदम बिष्टलाई रकम बुझाएर स्थानीय युवाहरूले डाइस खेलाइरहेको स्रोतले बताएको छ।
उनले दैनिक ३ देखि ६ हजार प्रति डाइस उठाउंदै आएका छन् । उनले प्रहरी हवल्दार कल्चुराम सरदार मार्फत सेटिङ मिलाउंदै आएका छन् ।
पैसा नदिनेलाई दुःख दिने गरेको स्रोतले जनाएको छ । त्यसैगरी बिर्तामोडको पश्चिम स्टेण्ड, भद्रपुर स्टेण्ड, बुधबारे हटिया लगायतका दर्जनौं ठाउँमा पनि खुलेआम रूपमा डाइस तास लगायतका खेलहरू हुँदै आएका छन्। त्यहाँ पनि इलाका प्रहरी कार्यालय बिर्तामोडका घुमुवा मार्फत सेटिङ रहेको प्रहरी स्रोतले जनाएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेमा पनि निर्वाध रुपमा डाइस चलिरहेको छ। इलाका प्रहरी कार्यालय बुधबारेका वरिष्ठ सई मानबहादुर मिश्रको सेटिङमा बुधबारे स्थित पुलचोक लगायतका बजार क्षेत्रमा डाइस खेलाइँदै आएको छ।
त्यसैगरी शनिश्चरे बजारमा पनि डाइस खेलाइँदै आएको छ। शनिश्चरे प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई नुमराज के.सी.को सेटिङमा त्यहाँ पनि निर्वाध रूपमा डाइस खेलाइँदै आएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङ्गाका सई सुवास ढुङ्गानाको क्षेत्रमा पनि डाइस खेलाइँदै आएको छ। त्यसैगरी दमक बजार क्षेत्रमा पनि डाइस खेलाइँदै आइएको छ।
हवल्दार राजकुमार श्रेष्ठ र साहयक हवल्दार टिका दाहालको सेटिङमा र मिलेमतोमा दमक बजार क्षेत्रमा पनि दर्जन बढी स्थानमा डाइस खेलाइंदै आइएको छ ।
त्यसैगरी झापा गाउँपालिकास्थित शरणामती ,बजार कामाटोली, र झापा गाउँपालिका लगायतका क्षेत्रमा पनि डाइस खेलाइँदै आएको छ। इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज सई किरण मोक्तान रहेको छन् ।
त्यस्तै धुलाबारी बजार र चारआलीमा पनि निर्वाध रुपमा डाइस र जुवा खेलाइंदै आइएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज प्रहरी निरिक्षक पाण्डप राजवंशी र चारआली चौकीका इन्चार्ज सई कुमार खड्काको मिलेमत्तोमा पनि जुवा जन्य खेलाइंदै आएको छ । उनीहरुले पनि घुमुवा प्रहरी मार्फत रकम असुल्दै आएको स्रोतले जानकारी दियो ।

कानुनद्वारा बर्जित दुवाजन्य गतिविधिमा संलग्न हुने ,खेल्ने ,खेलाउने वा खेल सञ्चालन गर्ने जो कोहीलाई प्रचलित जुवा ऐन ,२०२० तथा मुलुकी अपराध संहिता २०७४ बमोजिम कारबाही हुने व्यहोरा उल्लेख छ।
तर यस्ता कार्यहरु रोक्नका लागि प्रशासनले गरेको आग्रहलाई झापाको प्रहरीले अटेर गरेको छ ।
प्रहरीकै मिलेमत्तो र सेटिङमा यसरी खुलेआम रुपमा डाइस तास लगायतका जुवाजन्य खेलहरू निर्वाध रुपमा सञ्चालन भइरहेको भए पनि जिल्ला प्रशासन कार्यालय झापाले भने कानमा तेल हालेर बसेको छ।
आफैंले सूचना जारी गरेर गरिएको आग्रह र अनुरोधलाई आफ्नै निकायको प्रहरी प्रशासनले पालना गरेको छैन तर प्रहरी प्रहरीलाई कारबाही गरिएको छैन।

जिल्ला प्रशासन कार्यालय झापाले असोज ३० गते पुन अर्को सूचना जारी गरेर दीपावलीको अवसरमा देउसो भैलो लगायतका सांस्कृतिक क्रियाकलापहरु रातको ९ बजे भित्रमा सम्पन्न गर्नुपर्ने बताएको छ ।

त्यसैगरी सोही दिन पनि प्रचलित कानुनले वर्जित गरेका जुवातास लङ्गुरबुजा डाइस लगायतका जुवाजन्य खेल खेलाउने कार्य नगर्नु हुन अनुरोध समेत गरेको छ। तर झापामा यसको पालना भएको छैन।









































