बिर्तामोड । 

वैदेशिक रोजगार व्यवसायी संघ झापाले इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनःनिर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ वढी सहयोग गरेको छ । 

गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त  इलाका प्रहरी कार्यालय अनारमनी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण तथा मर्मतका लागि आज (सोमवार) संघले प्रहरी कार्यालय परसरमै पुगेर सात लाख ९५ हजार ५२० रुपैयाँ बराबरको जिन्सी र दुई लाख पाँच हजार ४८५ रुपैयाँ नगद गरी १० लाख एक हजार पाँच रुपैयाँ हस्तान्तरण गरेको हो । 

संघका अध्यक्ष धनबहादुर पंधाक, उपाध्यक्ष प्रकाश राई, महासचिव नीरकुमार खत्री (नीरन), सचिव राजेन्द्र पौडेल, कोषाध्यक्ष कृष्णप्रसाद खतिवडा, प्रवत्ता ओमप्रकाश भट्टराईसहित वैदेशिक रोजगार व्यवसायीहरुको टोलीले सहयोग हस्तान्तरण गरेको छ । 

हरेक सामाजिक कार्यमा साथ र सहयोग गर्दै आएको संघले इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी बिजय श्रेष्ठ, प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनः निर्माण तथा मर्मत सम्भार अभियानका अगुवा पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरी, सन्ताेष राजवंशी लगायतलाई नगद दुई लाख ५ हजार ४८५ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष पंधाकले प्रहरी र प्रहरी कार्यालय शान्ति सुरक्षाका लागि अपरिहार्य भएकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत नागरिक समाजको भेलाका समय जिन्सी र नगद गरेर ८ देखि १० लाख रुपैयाँ दिने घोषणा गरेको सोही अनुरुप आज उक्त रकम तथा जिन्सी सामाग्री हस्तान्तरण गरेको बताए । उनले आगामी दिनमा पनि संस्थाले सकेको सहयोग गर्दै जाने जानकारी दिए । 

यता  इप्रका अनारमनीका डिएसपी बिजयले र पुनः निर्माण अभियानका अगुवा पदम श्रेष्ठले संघको तर्फबाट फर्निचर र नगद उपलब्ध गराएको भन्दै आभारसहित धन्यवाद व्यक्ति गरेका थिए ।

कार्यक्रमको सहजीकरण संघका महासचि नीरनले गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरु अनिल उप्रेती, केदार ढुङ्गाना, भूपेन्द्र घिमिरे, संघका निवर्तमान सचिव सिपी पाठकलगायतको उपस्थिति रहेको थियो ।

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको थियो । उक्त भवनहरुको पुनः निर्माण तथा मर्मत सम्भार हाल अन्तिम चरणमा पुनःनिर्माण अभियानका अगुवा बिपिन बजगाँईले जानकारी दिए ।