काठमाण्डौ –  विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खला अन्तर्गत नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेटायो ।

यूएईका आर्यन शर्माले ९८ र विलासी शर्फूले ४५ रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई, करन केसी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

त्यसअघि यूएईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा दुई सय ३३ रनमा अलआउट भयो । नेपालका कप्तान रोहितकुमार पौडेलको शतकमा नेपालले दुई सय ३३ रन बनाएको हो । उनले एक सय नौ रन जोडे । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । यूएईका जाहिद अलीले चार, जुनैद सिद्दिकीले तीन तथा मोहम्मद रोहिद, हैदर अलीले समान एक विकेट लिए ।

नेपाल लिग–२ मा १८ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ भने यूएई १८ खेलमा आठ अङ्कसहित पुछारमा छ । यो श्रृंखलामा नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । लिग–२ को तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कसहित शीर्ष स्थानमा छ ।

२४ खेलमा ३० अङ्कसहित स्कटल्याण्ड दोस्रो र समान खेलमा २८ अङ्कसहित नेदरल्यान्डस् तेश्रो स्थानमा छ । लिग–२ अन्तर्गत यो श्रृंखलाको आफ्नो तेश्रो खेलमा नेपालले पर्सि शनिवार अमेरिकासँग खेल्नेछ । त्यसपछि बुधबार यूएईसँग नै खेल्नेछ ।