मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२ र ८३ को प्रथम त्रैमासिक अवधिमा लक्ष्यको ९५ प्रतिशत राजस्व असुली गरेको जनाएको छ। पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले चालु आवको साउन, भदौ र असोज महिनामा रु चार अर्ब ३६ करोड २८ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु चार अर्ब १५ करोड २० लाख आठ हजार असुली गर्न सफल भएको कार्यालयले जनाएको छ ।
मेची भन्सारका अनुसार सबैभन्दा बढी राजस्व आयातित सामानको भन्सार महसुलतर्फ रु एक अर्ब ८० करोड ५३ लाख ७९ हजार ५४९ असुली भएको छ।
 
        
    
आयातित सामानको मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ४९ करोड २३ लाख ६४ हजार ३९३, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु १३ करोड १७ लाख १२ हजार, आयातको अन्तः शुल्कतर्फ ११ करोड तीन लाख ५९ हजार ९३, निर्यातको भन्सार महसुलतर्फ रु १० करोड ६२ लाख १० हजार १२४ र पूर्वाधार करतर्फ रु ३९ करोड ५३ लाख ६० हजार राजस्व असुली भएको भन्सारको त्रैमासिक प्रगति विवरणमा जनाइएको छ।
जेनजी आन्दोलनबाट प्रभावित मानिएको चालु आवको असोज महिनामा समेत भन्सारले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। भन्न्सारले असोज महिनामा मात्रै लक्ष्यको १०१। १७ प्रतिशत राजश्व संकलन गरेको मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिए ।
 
        
                        
            _1736908732.jpg) 
        
    
कार्यालयलाई असोज महिनामा १ अर्ब ५० करोड ४९ लाख २४ हजार लक्ष्य लिएकोमा कार्यालयले १ अर्ब ५२ करोड २४ लाख ९१ हजार राजश्व संकलन गर्न सफल भएको जनाएको छ । चाडपर्वमा धेरै सामान आयात हुंदा भन्सारले लक्ष्य भेटाएको हो ।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् भने आयात हुने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।
 
        
    
                 
         
                     
         
         
                            
                                                             
        


 
         
        






































 
        