होटल व्यवसायी संघ झापाको आयोजनामा एक महिने कुक तालिम शुरु भएको छ ।
होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै युवाहरुलाई सीप सिकाएर स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि एक महिने कुक तालिम शुरु भएको हो ।
संघकी अध्यक्ष इन्दिरा श्रेष्ठको अध्यक्षता एवम् पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाको प्रमुख आतिथ्यमा तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा शुरु भएको तालिममा जिल्लाभरिका २५ जना प्रशिक्षार्थी सहभागी छन् ।

तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले तालिमप्रति अपनत्व ग्रहण गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
उहाँले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने सरकारी नीति अनुसार तालिमको आयोजना गरिएको बताउनुभयो । एक दिन पनि नछुटाइ नियमित तालिममा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
होटल व्यवसायी संघ झापा अध्यक्ष इन्दिरा श्रेष्ठले तालिम पछि रोजगारीको समेत ग्यारेन्टी गरिएको बताउनुभयो । उहाँले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई पुरस्कृत गरिने बताउनुभयो । होटल व्यवसाय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि संघले कुक, बारिष्टा लगायतका विभिन्न तालिमहरु आयोजना गर्दै आएको उहाँको भनाइ छ ।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भूपेन्द्र न्यौपानेले युवाहरुलाई आत्मनिर्भर बनाउन सरकारको ठूलो लगानी रहेकाले तालिमको भरपूर फाइदा लिनु जोड दिनुभयो । उहाँले सीप र जाँगर भए संसारको जुनसुकै ठाउँमा पनि बाँच्न सकिने धारणा राख्नुभयो ।

होटल व्यवसायी संघका सल्लाहकार संयोजक डिल्लीराम मैनालीले लगनशील भएर सीप सिक्न आग्रह गर्नुभयो । सीपयुक्त जनशक्तिको विश्वमै माग बढ्दो रहेकाले सीप सिक्नुपर्नेमा उहाँको जोड छ ।
त्यस्तै, प्रशिक्षक एवम् अतिथि हस्पितलिटीका सञ्चालक निरज श्रेष्ठले तालिम लिएर व्यावसायिक बन्न सहभागीलाई सुझाव दिनुभयो । क्षेत्रीय होटल व्यवसायी संघ शिवासताक्षीका किरण ओलीले तालिमले अवसरको ढोका खुल्ने बताउनुभयो ।
जीवन उपयोगी सीप भएकाले यसले जीवनमा अघि बढ्न सहयोगी भूमिका खेल्ने उहाँले धारणा राख्नुभयो ।
संघकी कार्यसमिति सदस्य डुका कुमालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संघका बरिष्ठ उपाध्यक्ष ख्याम ओलीले गर्नुभएको थियो । तालिममा प्रशिक्षक राजेश सुवेदी, निरज श्रेष्ठ लगायतले प्रशिक्षण दिने छन् ।
कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य पदमा श्रेष्ठ, झापा प्राविधिक बिर्तामोडका देवराज बराल, संघका पदाधिकारी एवम् सदस्य, क्षेत्रीय संयोजक लगायतको आतिथ्य रहेको थियो ।










































