झापामा चालु आवमा सवारी दुर्घटनामा  १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८२ । ८३ को साउनदेखि कात्तिक २९ गतेसम्म भएका तीन सय ४५ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएको  प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

असोज महिनामा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको छ भने साउनमा तीन जना, भदौमा चार जना र कार्तिकको हालसम्म चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारी दुर्घटनाका अधिकांश घटनामा दुई पांग्रे सवारी साधन संलग्न रहेका छन् । कुल तीन सय ४५ सवारी दुर्घटनामा तीन सय २६ दुई पांग्रे, ९३ वटा चार पांग्रे, ३४ वटा मझौला र ३२ वटा ठूला र तीन वटा नखुलेका सवारी साधन रहेको कार्यालयले जनाएको छ ।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने छ हजार एक सय पाँच वटा सवारी साधनलाई कारबाही गरेको प्रहरीले जनाएको छ  । 

कार्यालयले साउन महिनामा दुई हजार ५ सय ६४ वटा, भदौमा एक हजार नौ सय २७ वटा, असोजमा दुई सय ७१ र कार्तिक महिनाको हालसम्म एक हजार तीन सय ४३ वटा सवारी साधनलाई कारबाही गरेको छ । जसबाट कार्यालयले रू ५९ लाख ८१ हजार पाँच सय ३३ राजस्वसमेत संकलन गरेको छ ।