सन्तोष न्यौपाने । झापा पितृको स्मृतिमा शतबीज छरेर आज बालाचतुर्दशी पर्व झापामा पनि धुमधामका साथ मनाइएको छ । पूर्वको पशुपतिनाथको नामबाट 

चिनिने झापाको  अर्जुनधारा जलेश्वर धाम शनिश्चरेमा मंगलबार सांझदेखि नै भक्तजनको घुइँचो लागेको थियो । आज विहान शतबीज छर्नेहरु हजारौंको संख्यामा मन्दिरमा आएको धाम समितिका अध्यक्ष नविन गट्टानीले जानकारी दिए । 

धाममा मंगलबार  साँझदेखि दीप प्रज्ज्वलन गरेर हजारौं भक्तजन रातभर जाग्राम बसेका थिए । उनीहरुले भजनकीर्तन समेत गरेर रात बिताए ।

आज बिहान झिसमिसेदेखि नै शतबीज छर्नेको भीड लागेको थियो । शतबीज छर्न आउनेहरुको सुविधा र सहजताका लागि लाइन लाग्ने र वृद्धवृद्धाका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको छ । स्वयम्सेवक र प्रहरीहरुले भक्तजनहरुको सुरक्षा र व्यवस्थापनमा सघाइरहेका छन् ।

शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । माता पिता दिवंगत भई एक वर्ष पूरा भएकाले दीपदान एवं शतबीज छर्ने धार्मिक चलन छ ।

नेपाल सरकारबाट पर्यटकीय गन्तव्यको रुपमा राष्ट्रिय सम्पदाको सूचिमा सूचिकृत भइसकेको धाममा वि।स। २०४० साल मंसिर देखि बालाचतुर्शीका दिन सतबिज छर्ने भक्तजनहरुको घुइँचो लाग्दै आएको छ ।