अर्जुनधारा। झापाको अर्जुनधारामा रहेको एकमात्र शनिश्चरे बहुमुखी क्याम्पसको १२औं क्याम्पस सभा शुक्रबार अक्षयकोष दाता तथा समाजसेवीलाई सम्मान गर्दै सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हेमप्रसाद खरेलको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लोकनाथ गौतमले स्वागत गरेका थिए।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष खरेलले क्याम्पसको गतिविधिहरुबारे प्रकाश पारेको कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन क्याम्पस प्रमुख कृष्णबहादुर थापाले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखा परीक्षण संयोजक कृष्णप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसको स्थापनाकालदेखि क्याम्पसको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने केदारमणी ढकाल, क्या। मानबहादुर राई र कृष्णप्रसाद मिश्रलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नगरप्रमुख गोम्देनसहित पूर्व वन राज्यमन्त्री तथा अक्षयकोष दाता वीरमणी ढकाल, सीतारमेश बहुमुखी क्याम्पस प्रमुख पुष्प रिजाल, शनिश्चरे बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहनप्रसाद ओली, शनिश्चरे बहुमुखी क्याम्पसका संस्थापक सदस्य अर्जुनधारा नगरपालिकाका पूर्वनगर प्रमुख हरिकुमार रानालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा शनिश्चरे बहुमुखी क्याम्पसमा विभिन्न संकाय र वर्षहरूमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो ।
क्याम्पसकै उत्कृष्ट विद्यार्थी समिक्षा राईलाई नगद ६ हजारसहित पुरस्कृत गरिएको थियो। यसैगरी, बीबीएस चौथो वर्ष उत्कृष्ट समिक्षा राई, बीएड चौथो वर्ष उत्कृष्ट रेखा तिम्सिना, बीबीएस तेस्रो वर्ष उत्कृष्ट एलिसा दाहाल, बीएड तेस्रो जर्ष उत्कृष्ट यमुना गिरी, बीबीएस दोस्रो वर्ष उत्कृष्ट विशेष कोइराला, बीएड दोस्रो वर्ष उत्कृष्ट बिष्णुमाया पौडेल, बीबीएस प्रथम वर्ष उत्कृष्ट रिया निरौला, बीएड प्रथम वर्ष उत्कृष्ट प्रमिला तामाङलाई जनही नगद ४ हजारसहित पुरस्कृत गरिएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक नारायणप्रसाद पौडेलले गरेका थिए।
यसअघि क्याम्पसमा आगन्तुक नयाँ विद्यार्थीलाई स्वतन्त्र विद्यार्थी युनियनले स्वागत गरेको थियो । क्याम्पसमा विद्यार्थी भर्ना अभियान चलिरहेकै बेला स्ववियूले स्वागत गरेको हो । कार्यक्रम स्ववियू सभापति विशाल थापाको अध्यक्षतामा भएको थियो ।
यसवर्ष ५९ जना विद्यार्थी क्याम्पसमा भर्ना भएका छन् । क्याम्पस प्रशासनका अनुसार बीबीएस प्रथम वर्षमा ३७ जना र बीएडतर्फ २२ जना विद्यार्थी भर्ना भएका छन् । शैक्षिकसत्र २०८२ मा विद्यार्थी संख्या ५२२ जना पुगेको छ ।
च्भबितभम








































