झापाको कचनकवल ३ स्थित साविक पथरीयाबाट कटान भई हल्दिबारी स्थित अधिकारी चोक तर्फ ल्याउंदै गरेको अवस्थामा शसस्त्र प्रहरीले पक्राउ गरि डिभिजन वन कार्यालय झापामा बुझाइएको काठ सहितको ट्याक्टर आर्थिक चलखेलमा छोडिएको आरोप लागेको छ । वन कर्मचारीको मिलेमत्तोमा सरकारी वकिल मार्फत मुद्धा कमजोर बनाएर बरामद गरिएको काठ सहितको ट्याक्टरलाई उन्मुक्ति दिइएको हो । जसमा आर्थिक चलखेल भएको समाचार स्रोतले दाबी गरेको छ ।
बिओपी केचनाका शसस्त्र प्रहरी निरिक्षक निर्मल बुढाथोकी र प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डिएसपी निरन थापा सहितको प्रहरी टोलीले अधिकारी चोकबाट गत कात्तिक २६ गते १ ०१ ००१ त ८४०८ नम्बरको सिमलको गोलीया बोकेको ट्याक्टर नियन्त्रणमा लिएको थियो । त्यस पश्चात डिभिजन वन कार्यालय झापामा बुझाइएको थियो । तर सो गाडिलाई ४ दिन सम्म डिभिजन वन कार्यालय भद्रपुरमा राखेर कात्तिक ३० गते आइतबार जलथल सव डिभिजन वन कार्यालय रगिंयाडाँडाको कार्यालय परिसरमा लगेर राखिएको थियो ।
डिभिजन वन कार्यालयबाट सव डिभिजन पठाइएसंगै त्यसलाई सो बेला नै शंकाको घेरामा राखिएको थियो । जलथल सव डिभिजन वन कार्यालय साहयक वन अधिकृत कुलप्रसाद (केपी) भट्टराई तथा डिभिजन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठको प्रत्यक्ष संमलग्नतामा उक्त गाडि आर्थिक मिलेमत्तोमा छुटाइएको स्रोतले जनाएको छ ।
उनीहरुको मिलेमत्तोमा सरकारी वकिल मार्फत मुद्धा कमजोर बनाउनकालागि कचनकबल ३ का सिफारीस समेत ल्याइएको थियो । उक्त गाडि बिर्तामोडका एक जना कांग्रेसका नेताको नातेदारको भएकै कारण तिब्र दबाब समेत परेको बताइएको छ ।
सो गाडिको बिषयमा भद्रपुर नगरका नगर प्रमुखले समेत चासो राखेको जनाइएको छ । सो गाडि र काठ छुटाउन मुद्धा कमजोर बनाउने खेलमा स्वंम डिभिजन कार्यालय झापाका प्रमुख श्रेष्ठ त्यही बेला देखि लागि परेका थिए । उनको कोशी प्रदेश क्षेत्रीय कार्यालयमा सरुवा भएको छ । तर उनी अझै केहि दिन यंिह रहने बताइएको छ । आर्थिक मिलेमत्तोमा कार्यालय प्रमुख श्रेष्ठले पनि धेरै बदमासी गरेको स्रोतले जनाएको छ ।
छुट पुर्जी, कटान आदेश, स्थानतरण इजाजत लगायतका कुनै पनि कागजात नभएको अवस्थामा ६५ थान सिमलको गाोलीया सहितको ट्याक्टर शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अन्दाजी १३० क्युफिट काठको मुल्य १ लाख ५० हजार र ट्याक्टरको ८ लाख गरी ९ लाख ५० हजार राजश्व दाखिला गरेर डिभिजन कार्यालय झापामा बुझाएको थियो ।
यता तत्कालीन अवस्थामा पनि जलथल सव डिभिजन वन कार्यालय साहयक वन अधिकृत कुलप्रसाद (केपी) भट्टराईले अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया पुरा नगरी काठ कटान भएको बताएका थिए । तर हालै गाडि छोडिएको बिषयमा अदालतको कारण देखाउंदै पन्छिए । यता यस बिषयमा जानकारी लिन कार्यालय प्रमुख श्रेष्ठलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्मरण रहोस उक्त काठमा टाँचा, बिमार्का केहि गरिएको थिएन ।









































