झापाको मुख्य बजार बिर्तामोड क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । साँघुरो सडकमा विभिन्न किसिमका सवारी साधनहरु एकैपटक प्रवेश गर्दा मुख्य बिर्तामोड बजार क्षेत्रमा ५० मिटरको दुरी पार गर्न आधाघण्टासम्म कुर्नुपर्ने बाध्यता छ । बिर्तामोडमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख कार्यालय भएपनि ट्राफिक प्रहरी मुकदर्शक बनेको आरोप स्थानीयले लगाउंदै आएका छन् ।
सवारी चालकहरुले पनि ट्राफिक नियमको वेवास्ता गरेर सवारी चलाउंदा झनै समस्या छ । त्यसमाथि आवश्यकता भन्दा बढी ई रिक्साहरु संचालनमा रहेका कारण बिर्तामोडको शनिश्चरेरोड, हिकोलारोड, कन्काईरोड, भद्रपुररोड लगायतका जुनसुकै गल्लीमा पुग्दा ई रिक्सा तथा गाडीहरुको लाम लाग्ने गरेको छ । सिटी तथा अट्टोले यात्रुलाई जतासुकै ओराल्ने र चढाउने गर्दा झनै समस्या बढिरहेको छ ।
सिटी तथा अट्टो बाहेक मोटरसाइकल, कार, टेम्पो, रिक्सा, ठेला, साइकल लगायतका अन्य सवारीसाधन सडकमा मनलाग्दी गुडिरहेका हुन्छन् । जसका कारण सडक अस्तब्यस्त छ । सडकमा ट्राफिक प्रहरीको संख्या न्युन देख्न सकिन्छ । एशियन हाइवे निमार्णले गर्दा धुंवा धुलोको मार खेपिरहेका यात्रुलाई बिर्तामोड क्षेत्रमा पार्किङ झनै समस्या छ । भद्रपुररोड, शनिश्चरेरोड , हिकोलारोड र कृषिथोक रोडमा एक लेन पार्किङले ओगटेको छ जसका कारण पैदलयात्रुलाई समेत हिंड्न कठिनाई भएको छ ।

मुख्य सडकमा हुने जामले गर्दा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यकीय सवारीलाई समेत आवतजावतमा समस्या हुने गरेको छ । रिक्सा, ईरिक्सा टाँगा लगायतका सवारीको चाप छ, दुर्घटनाको जोखिम छ ।
एक बर्ष अघि नै तामझामका साथ व्यवसायिक क्षेत्र समेतको अग्रसरतामा बिर्तामोडको हिकोला रोडलाई एकतर्फी बनाइएको थियो । तर एक महिना नबित्दै त्यो कार्यान्वयनै भएन ।
बिर्तामोड उद्योग वाणिज्य सङ्घको अग्रसरतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हिकोला रोड एकतर्फी बनाएको थियो । सवारी तथा यात्रुको आवतजावत सहजताका लागि दक्षिणबाट उत्तरतर्फ मात्र सञ्चालन गर्न पाउने गरी हिकोला रोडलाई एकतर्फी तत्कालीन अवस्थामा बनाइएको थियो ।










































