भद्रपुर, २८ मङ्सिर । भद्रपुर जेसीज र प्रेस क्लब भद्रपुर बीच आज मैत्रीपूर्ण फुटबल खेल भएको छ । भद्रपुर जेसीजको आयोजनामा मेची रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा भद्रपुर प्रेस क्लबले जेसीजलाई ५–२ को गोल अन्तरले पराजित गरेको छ ।
भद्रपुर जेसीज सन् २०२५ का अध्यक्ष शैलेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर जेसीज सन् १९९७ का अध्यक्ष सन्तोष अग्रवालको प्रमुख आतिथ्य रहेको थियो ।
विजेता प्रेस क्लबका टिम क्याप्टेन गोपाल गिरी र खेलका म्यान अफ द म्याच पत्रकार इश्वर अधिकारीलाई प्रमुख अतिथि अग्रवालले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अग्रवालले खेलकुदले मानव जीवनलाई स्वास्थ्य एवम् समुन्नत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले जेसीज कर्मी र पत्रकारबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गर्नुहुँदै आगामी दिनमा समेत क्लब र जेसीज बीच निरन्तर सहकार्य हुने बताउनुभयो ।
मैत्रीपूर्ण फुटबल खेलको औचित्यमाथि खेल संयोजक अनुभव श्रेष्ठले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव हेडम्बराज निरौलाले गर्नुभएको थियो ।
जेसीज सप्ताह मूल समारोह समिति संयोजक निरप्रसाद अधिकारीले मङ्सिर २५ देखि विभिन्न कार्यक्रमको आयोजना गरी पुस १ गतेसम्म जेसीज सप्ताह मनाउन लागिएको जानकारी दिनुभयो ।
जेसीज सप्ताह उद्घाटनको अवसरमा कार्यक्रम संयोजक जेसी कुसुम न्यौपानेको संयोजकत्वमा मङ्सिर २५ गते भद्रपुर–१० स्थित ढेना बस्तीका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने कार्यक्रम संयोजक जेसी सुरज श्रेष्ठको संयोजकत्वमा नेपाल–भारत सीमा क्षेत्र मेची पुलमा लागु औषधविरुद्धको सचेतनामूलक कार्यक्रम गरिएको थियो ।
त्यस्तै, कार्यक्रम संयोजक जेसीज आदित्य दासको संयोजकत्वमा मङ्सिर २६ गते युवासँग जेसीज तालिम, कार्यक्रम संयोजक जेसी विशाल श्रेष्ठको संयोजकत्वमा सडक सचेतना कार्यक्रम अन्तर्गत जेब्रा क्रस निर्माण र कार्यक्रम संयोजक जेसी सुमन बिमलीको संयोजकत्वमा मङ्सिर २७ गते रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ ।
त्यस्तै, कार्यक्रम संयोजक जेसी आरोग्य तिम्सिनाको संयोजकत्वमा पुस १ गते जेसीज सप्ताह समापन समारोह हुने भएको छ । समापनको अवसरमा पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा छिमेकी शाखाहरूसँग ५३ औं राष्ट्रिय महाधिवेशन अन्तरक्रिया कार्यक्रम गरिने भद्रपुर जेसीजका महासचिव हेडम्बराज निरौलाले जानकारी दिनुभयो ।









































