झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
आज ५ गते साँझ करिब ५ः३० बजे चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा भद्रपुर नगरपालिका–५ का २५ वर्षीय भुपाल अधिकारी र अर्का भद्रपुर ७ का अन्दाजी २५–२६ वर्षीय शीर्षक सुवेदी गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले जाँच गर्दा साँझ ६ः१५ बजे दुबै जनालाई मृत घोषणा गरेका थिए । शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ ।
दुर्घटनामा संलग्न मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































