काठमाण्डौ – गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भागेकामध्ये चार हजार पाँच सय ७५ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागार व्यवस्था विभागका अनुसार आन्दोलनका क्रममा १४ हजार ५ सय ५९ जना कैदीबन्दी फरार भएकामा ९ हजार ९ सय ६५ जना जना फर्किएका कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
आन्दोलनका क्रममा २८ वटा कारागारबाट कैदीबन्दी भागेका थिए । फरार रहेका कैदीबन्दी मध्ये ५ सय १६ जना भारतीय र ८९ जना भारत बाहेकका विदेशी नागरिक रहेका छन् । २ सय ६ जना बालसुधारतर्फका छन् ।
कैदीबन्दी भाग्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर बालसुधारतर्फका ६ सहित १९ जना कैदीबन्दीले ज्यान गुमाएका थिए । सरकारले कैदी बन्दीहरूलाई आफैँ कारागार फर्किन सूचना प्रकाशन गर्दै आएको छ । यस्तै उनीहरूको नाम ठेगानासहितका विवरण सार्वजनिक गर्ने काम पनि गरेको छ ।
अहिले चुनावको वातावरण बनाउन फरार कैदीबन्दी फर्कनुपर्ने कुरालाई दलहरुले प्राथामिकता दिएका छन् । गृह मन्त्रालयका अनुसार सरकारले आन्दोलनका क्रममा भागेका कैदीबन्दी नफर्किएमा पाँच वर्षसम्मको अतिरिक्त कैद तोक्न सक्नेगरी थप मुद्दा चलाउन तयारी गरेकाले अब बाँकी पनि फर्कने आशा रहेको छ ।








































