बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता तथा छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १० ले हात पारेको छ।

आइतबार सहिद नेत्र पार्कको खेल मैदानमा सम्पन्न भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १० ले वडा नम्बर ५ लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै वडा नम्बर १० ले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ५ ले १५ हजार रुपैयाँमा चित्त बुझायो। खेलमा वडा नम्बर १० का महेश राईले दुई गोल र दिलेन लोक्तामले एक गोल गरेका थिए। खेलको प्लेयर अफ द म्याच महेश राई घोषित भए, उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए। प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको थियो।

त्यसैगरी बिर्तामोडमा सम्पन्न छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १० ले वडा नम्बर ३ लाई  द्द ज्ञ गोल    गोल अन्तरमा  पराजित गर्दै उपाधि कब्जा गरेको छ। उपाधिसँगै वडा नम्बर १० ले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ३ ले ५० हजार रुपैयाँ पायो। फाइनल खेलमा वडा नम्बर १० का सुजन लिम्बु र घनश्याम कार्कीले गोल गरे भने वडा नम्बर ३ का सञ्जय हस्दाले एकमात्र सान्त्वना गोल गरेका थिए।

फाइनल खेलको प्लेयर अफ द म्याच आरके कन्दङवा घोषित भए, उनले नगद १ हजार ५ सय रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट वडा नम्बर १० का सौरभ लिम्बु बने, उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उत्कृष्ट गोलकिपर वाल्मीकि राई, उत्कृष्ट मिडफिल्डर उत्सव राई, उत्कृष्ट स्ट्राइकर आशिष चापागाईं, उत्कृष्ट डिफेन्स खेसेहाङ लिम्बू तथा उत्कृष्ट कोच सुरेन तुम्रोक घोषित भए, उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

पुस ४ गतेदेखि सुरु भएको दुवै प्रतियोगिता आइतबार सम्पन्न भएको हो। छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा नगरका ९ वडाका खेलाडीहरूको सहभागिता रहेको थियो। नगर खेलकुद विकास समितिले हरेक वर्ष क्यालेन्डर अनुसार वडा स्तरीय प्रतियोगिता आयोजना गर्दै आएको समितिका सचिव विसन लिम्बुले जानकारी दिए।