झापा । भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसले टसको फाइदा उठाउन सकेन ।
बलरलाई साथ दिएको पिचमा डडेल्धुरालाई सस्तैमा समेट्न आसामका तर्फबाट गोकुल शर्माले ४ ओभरमा मात्र १७ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए तपनकुमार शर्मा र प्राञ्जल भारालीले समान २–२ तथा निहार डेका र निबिर डेकाले १–१ विकेट लिए । ब्याटिङमा डडेल्धुराका दिपक बोहोराले ३१ बलमा ४० रन बनाए भने आशिष लुहारले २७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
जवाफमा आसामको सुरुआत पनि राम्रो हुन सकेन । १२ रनको स्कोर हुँदा ४ विकेट गुमाइसकेको आसामले अन्तिम ओभरमा मात्र जीत हासिल गर्यो । आसामले १९.२ ओभरमा ८ विकेट क्षतिमा ९५ रन बनाएर जीत हासिल गरेको हो ।

ब्याटिङमा आसामका तर्फबाट गोकुल शर्मा र स्वस्तिक क्षेत्रीले समान ३२ रनको योगदान दिए । बलिङमा डडेल्धुराका तर्फबाट अजय चौहानले ४ ओभरमा १३ रन खर्चिएर २ विकेट लिए ।
बलिङ र ब्याटिङ, दुबैमा चम्किएका गोकुल शर्मा म्यान अफ द म्याच भए । उनले नगद ११ हजारसहित ट्रफी प्राप्त गरे । उनलाई भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले म्यान अफ दि म्याच पुरस्कार प्रदान गरे ।
अहिले दोस्रो सेमिफाइनल खेल आयोजक भद्रपुर क्रिकेट क्लब र भारतको लखनउबीच सुरु भएको छ । विजेतासँग आसामले भोलि हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख नगदसहित शील्ड प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद तीन लाखसहित शील्ड प्राप्त गर्ने प्रतियोगिताका संयोजक गौरब सुब्बा ‘मनोज’ले जानकारी दिए ।










































