बिर्तामोड ।
प्रथम गुरुभक्त न्यौपाने मेमोरियल इन्टर स्कुल नकआउट फुटबल प्रतियोगिता २०८२ को उपाधि बिर्तामाेड २ स्थित निदी सेकेन्डरी स्कुलले उचालेकाे छ ।
आज (शनिवार) कञ्चनजङ्गा इङ्लिस स्कुलकाे मैदानमा भएकाे फाईनल खेलमा निदी स्कुलले देवी माध्यमिक बिद्यालयलाई २–१ गोलले पछि पार्दै उपाधि चुमेकाे हाे ।
निदीले उपाधिसँगै नगद १० हजार सहित मेडल र ट्रफी हात पारेको छ ।
त्यस्तै उपविबजेता देवी माविले नगद ६ हजारसहित मेडल र ट्रफी हात पार्याे ।
यस्तो प्रतियोगितामा तेस्रो आयोजक कन्चनजङ्गा भएको छ । उसले नगद ४ हजार ५०० रुपैयाँसहित मेडल र ट्रफी पाएकाे छ । चौथो हुनेलाई सान्तवना मेडल र ट्रफी दिइएकाे छ ।
साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवर्ड, वेष्ट प्लेयर, टप स्कोरर, वेष्ठ कोच र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई आकर्षक ट्रफी प्रदान गरिएको छ ।
झापाको बिर्तामोड–४ स्थित कञ्चनजङ्गा इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा संस्थापक गुरु भक्त न्याैपानेकाे स्मृतिमा गत फागुन ३ गतेदेखि प्रतियोगिता सुरू भएकाे थियाे ।
विद्यालयका संस्थापक तथा निर्देशक शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व न्यौपानेको स्मृतिलाई जिवन्त राख्न फुटबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेकाे भनाई छ ।
विद्यार्थीहरू भित्र रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्न साथै विद्यार्थीहरूलाई मानसिक तथा स्वस्थ राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको बताईएकाे छ ।
प्रथमपटक आयोजना गरिएको यस प्रतियोगितामा नगर क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत २० वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।
आगामी दिनमा यस कार्यक्रमलाई बृहत बनाउँदै झापा जिल्ला भरिका स्कुलहरूलाई समेट्ने योजना बनाएकाे विद्यालयले जनाएको छ ।
प्रतियोगितामा एमएटी, देवकुल, शुक्रराज, विराट ज्योति, न्युटन्स, कोहेड, टावर टेम्पल, देवी मावि, एभरेस्ट, प्रशान्ति, कन्चनजंगा कञ्चन ,सरस्वती एन्जल, फनमिन, सिदार्थ, गोमेन्द्र, सरस्वती मावि, निधि कन्काई र सेन्जिबियस स्कुलका विद्यार्थीकाे सहभागिता रहेकाे थियाे ।
बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको फाइनल खेलको उद्घाटन कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
बिद्यालयका भाइस पिन्सीपल अनन्तकुमार राजवंशीले स्वागत गरेको कार्यक्रममा बिद्यालयको गतिविधिका बिषयमा जानकारी दिदै संस्थापक प्रिन्सिपल डाक्टर केशवराज न्यौपानेले कार्यक्रमकाे ओेैचित्यमाथि प्रकाश पारेका थिए ।
साथै संस्थापक स्वर्गीय गुरुभक्त न्यौपानेको नाममा एक करोड रुपैयाँ राशीको अक्षयकोष स्थापना गर्ने संस्थापक प्रिन्सिपल केशबराज न्याैपानेले घोषणा गरेका छन् । उनले उक्त कोषको ब्याजबाट प्रत्येक बर्ष सामाजिक क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्ने जनाएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, विराट ज्योति स्कुलका प्रिन्सपल गणेश ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तथा खेल संयोजक दिपक सिटौलालले गरेका थिए ।
पिजीदेखि कक्षा १० सम्म १ हजार ५०० र ११ र १२ र बिबिएस र एसिसिए गरेर एक हजार गरी जम्मा २ हजार ५०० जना बिद्यार्थी अध्ययनरत छन् ।
शिक्षक र कर्मचारी गरेर जम्मा १५५ जना रहेको बताइएको छ ।