बिर्तामोड ।
१० बर्षीय बालक साइमन हस्दाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । झापाको बिर्तामोड–६ स्थित तमिलवाडीका साइमनलाई ‘बोनम्यारो’ रोग लागेपछि परिवारले आर्थिक सहयोगको अपिल गरेको हो ।
स्थानीय कन्चनजंघा इग्लिस बोडिङ स्कुल कक्षा–५ मा अध्ययनरत साइमन एक महिना अघिबाट बिरामी थिए । प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा छोरालाई बोनम्यारो भएको थाहा पाएपछि साइमनका बुवा–आमा छोराको उपचार कसरी गर्ने भन्ने चिन्तामा छन् ।
उपचारमा ६० लाख रुपैयाँ भन्दा वढी खर्च लाग्ने थाहा पाएपछि हस्दा दम्पत्तिले छोराको जीवन बचाईदिन पत्रकार सम्मेलन गर्दै आग्रह गरेका हुन् ।
सामान्य मजदुरी गरेर जीवन चलाइरहेका हस्दा परिवारले एक मात्र छोराको उपचारमा सहयोग गरिदिन देश तथा विदेशमा रहेका आमनागरिकसँग अपिल गरेका छन् । ‘ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका छौं’ साइमनका बुवा मोहनले भने ‘हामीले यत्रो खर्च जुटाएर उपचार गर्न सक्ने अवस्था छैन, यहाँहरुले सक्दो सहयोग गरेर हाम्रो छोराको जीवन बचाइदिनु हुनेछ भन्ने ठानेर सहयोगको अपिल गरेको हौं ।’
साइमनकि आमा प्रतिमाले आफ्नो छोराको उपचारको लागि सहयोग गरिदिन आग्रह गर्दै भनिन्‘ ६ महिना भित्र बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनेको छ, त्यसको उपचार दिल्लीमा हुन्छ अरे, हामीसँग त्यत्रो पैसा छैन’ सवैले सहयोग गर्नुभयो भने छोराको उपचार सम्भव छ भनेर हामीले सहयोगको अपिल गरेको हौं ।’
अहिले साइमनलाई १५÷१५ दिनमा रगत चडाउनुपर्छ । रगत चडाउन ढिलो भए उनी असक्त जस्तै हुन्छन् । साइमनको उपचारका लागि स्थानीय युवा पनि जुटेका छन् ।
साइमन बचाऔं अभियान सञ्चालन गरेर उनको उपचार गर्ने युवा नितेश डाँगीले बताए । ‘एउटा बालक खर्च अभावमा उपचारबाट बन्चित हुनुहुँदैन भन्ने उद्देश्यले हामी युवाहरु जुटेका छौं’ उनले भने ‘यहाँहरु सवैले साइमनको उपचारका लागि सहयोग गर्नुहुनेछ ।’ साइमनको उपचारमा सहयोग गर्न चाहनेहरुले सानिमा बैंक बिर्तामोड शाखामा रहेको बुवा मोहन हस्दाको खाता नम्बर ०३७०११०६०००३७५६ मा गर्न सकिनेछ ।









































