झापामा लागु औषध नियन्त्रण चुनौती बन्दै गएको छ । खुल्ला सीमाका कारण लागु औषध नियन्त्रणकालागि  प्रहरीलाई टाउको दुःखाई बनिरहेको हो ।  

दैनिक कारोबारी तथा सेवनकर्ता प्रकाउ परिरहेको संख्या र लागु औषधको परिणामले झापा लागु औषधको हट स्पट बन्दै गएको हो ।   नियन्त्रणकालागि बिभिन्न संघ संस्थासंग सहकार्य र समन्वय गर्दै जनचेतनामुलक ,छलफल, अन्तरक्रिया सहित बभिन्न कार्यक्रम गर्दै आएको प्रहरीले दाबी गरेको छ । तर  पनि लागु औषधको जालो बढ्दो अवस्थामा छ । 

जिल्ला प्रहरी कार्यालय झापाले खुला सीमाका कारण लागु औषध न्युनिकरणमा चुनौती रहेको जनाएको छ ।   प्रहरीले खुल्ला सीमा कारण भारतीय सीमावर्ती बजारमा सहज उपलब्ज हुने लागु औषध नियन्त्रणकालागि सप्लाई र डिमाण्ड रोक्नकालागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको जनाएको छ  ।  

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८१ ÷८२ को बैशाख महिना सम्म ३ सय ४५  वटा लागु औषधका मुद्दादर्ता भएका छन् । जसमा ४८२ जना भारतीय सहित नेपाली पुरुष र महिला पक्राउ परेका छन् । 

 प्रहरीले बैशाख मसान्त सम्ममा ३ केजी ३७९ ग्राम २७५ मिलिग्राम ब्राउन सुगर  बरामद गरेको छ । त्यस्तै ४ केजी २४९ ग्राम ३१० मिलिग्राम गाँजा बरमाद गरेको प्रहरीले जनाएको छ । त्यस्तै एम्पुल १८७० , ट्याब्लेट १ लाख ३ हजार ३५९ , क्यापसुल १ लाख ६ हजार १०८ वटा बरामद गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागूपदार्थ दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढ्दै गएको प्रहरी अधिकारीको भनाई छ । 

बिशेष गरी दमक, कांकरभिट्टा, भद्रपुर , बिर्तामोड सहित जनघनत्व बढी भएका शहर बजारमा लागु औषध डरलाग्दो रुपमा फैलिएको छ । 

गत आर्थिक वर्ष २०८०÷८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागू औषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो 

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९÷८० मा तीन सय ३६ मानिस झापामा लागू औषधको  अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका छन् ।  ।