झापा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा श्रमिक कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि राजु राजवंशी ‘सन्तोष’ले उम्मेदवारी दिने घोषणा गरेका छन्।

श्रमिक समुदायका अधिकार, सम्मान र प्रतिनिधित्वलाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा थप प्रभावकारी रूपमा स्थापित गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिन लागेको राजवंशीले बताएका छन्।

उनले श्रमिक वर्गका समस्या र मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

श्रमिक समुदायको आवाजलाई संगठनभित्र संस्थागत गर्दै उनीहरूको सहभागिता र प्रतिनिधित्वलाई बलियो बनाउनु आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।

राजवंशीले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, मान्यता र समावेशी चरित्रलाई थप सुदृढ बनाउन महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने बताए।

वडा तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित प्रतिनिधिबीच सहकार्य, एकता र समन्वयमार्फत पार्टी संगठनलाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

‘श्रमिक समुदायको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ राजवंशीले भने, ‘प्रतिनिधि साथीहरूको विश्वास र साथ पाए श्रमिकका सवाललाई कांग्रेसको नीति र निर्णय प्रक्रियामा प्राथमिकताका साथ उठाउनेछु।’

उनले वडा तथा क्षेत्रीय अधिवेशनबाट निर्वाचित सम्पूर्ण प्रतिनिधिलाई बधाई तथा शुभकामना दिँदै १५औँ महाधिवेशनमा श्रमिक कोटाबाट आफूलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउन अपिल गरेका छन्।