एनके प्युरिफाइरको लक्की ड्रमा ‘धाँधली’ भएको आरोप लगाउँदै ग्राहकले विरोध गरेपछि बिर्तामोडमा तनाव उत्पन्न भएको छ। बिर्तामोड–५ स्थित सिटी सेन्टरको साई पार्टी प्यालेसमा आज फाइनल उपहार घोषणा भइरहेका बेला ग्राहकले कम्पनीले निर्धारित शर्त र नियमविपरीत कार्यक्रम सञ्चालन गरेको आरोप लगाएका हुन्।
विवाद चर्किएपछि कम्पनीका कर्मचारी तथा सञ्चालक समितिका केही व्यक्तिलाई इलाका प्रहरी कार्यालय अनारमनीमा लगिएको छ। कार्यक्रममा सहभागी करिब दुई सय ग्राहक प्रहरी कार्यालयबाहिर भेला भएर घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन्।
किस्तामा सामान बिक्री गर्दै ‘हात खाली नजाने उपहार’ भन्दै लामो समयदेखि कार्यक्रम सञ्चालन गर्दै आएको एनके प्युरिफाइरको फाइनल ड्रमै विवाद उत्पन्न भएपछि कम्पनीको उपहार कार्यक्रममाथि गम्भीर प्रश्न उठेको छ।
बिर्तामोडमा नेटवर्किङ तथा प्रत्यक्ष बिक्रीका नाममा सर्वसाधारण ठगिएको आरोपका घटना बढिरहेका बेला एनके प्युरिफाइरको विवादले यस क्षेत्रमा सञ्चालन भइरहेका यस्ता व्यवसायको नियमन र छानबिनको विषय पुनः चर्चामा ल्याएको छ। केही दिनअघि मात्रै प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर ४१ जनालाई पक्राउ गरेको थियो।










































