बिर्तामोड ।
हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ झापाको बिर्तामोडमा औपचारिक रूपमा सार्वजनिक भएको छ। बिर्तामोडस्थित एलाइन्स मोटर्सको हुन्डाई सोरुममा बुधबार आयोजित एक कार्यक्रमबीच नयाँ पुस्ताको भेन्यु सार्वजनिक गरिएको हो।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईसहित स्थानीय व्यवसायीले संयुक्त रूपमा नयाँ भेन्यु सार्वजनिक गरेका थिए। कार्यक्रममा नगर प्रमुख प्रसाईले विश्वस्तरीय ब्रान्डका नयाँ सवारीसाधन बिर्तामोडमै उपलब्ध हुनु स्थानीय बजार विस्तारको सकारात्मक संकेत भएको बताइन्।
उनका अनुसार विगतमा नयाँ सवारीसाधन खरिद गर्न काठमाडौंलगायत ठूला सहर पुग्नुपर्ने अवस्था थियो। पछिल्लो समय बिर्तामोडमै विभिन्न ब्रान्डका सवारीसाधन तथा बिक्रीपछिको सेवा उपलब्ध हुन थालेसँगै स्थानीय उपभोक्तालाई सहज भएको उनले बताइन्। अटोमोबाइल व्यवसायको विस्तारले बिर्तामोडको आर्थिक गतिविधि र बजारको आकारसमेत बढाउँदै लगेको उनको भनाइ थियो।
नेपालमा नयाँ भेन्यु ‘मेड इन नेपाल’ मोडलका रूपमा समेत उपलब्ध भएको छ। यसको बिक्री तथा वितरण नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टलले गर्दै आएको छ। कम्पनीका अनुसार अघिल्लो पुस्ताको तुलनामा नयाँ भेन्युको डिजाइन, प्रविधि, आराम तथा सुरक्षा सुविधामा उल्लेख्य सुधार गरिएको छ।
नयाँ भेन्युमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, डार्क क्रोम ग्रिल, डिजिटल क्लस्टर तथा १०।२५ इन्चको इन्फोटेनमेन्ट प्रणाली उपलब्ध छन्। त्यस्तै, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफ पनि यसका प्रमुख विशेषतामध्ये हुन्।
सुरक्षाका दृष्टिले पनि नयाँ भेन्युमा विभिन्न आधुनिक सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। यसमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायतका सुविधा छन्।
कार्यक्रममा एलाइन्स मोटर्सका तर्फबाट हुन्डाईका सेल्स हेड दिवाकर रेग्मीले नयाँ भेन्युका प्रमुख विशेषता, प्रविधि तथा उपलब्ध भेरियन्टबारे जानकारी दिएका थिए। नेपालमा नयाँ भेन्युको प्रारम्भिक मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।
एलाइन्स मोटर्सका सञ्चालक यम विमलीले बिर्तामोडमा हुन्डाईको कारोबार सुरु भएयता हालसम्म ५१० वटा सवारीसाधन बिक्री भइसकेको जानकारी दिए। नयाँ भेन्यु सार्वजनिक गरिएको दिन बिक्री भएको गाडी एलाइन्स मोटर्सको ५११औँ सवारीसाधन बनेको उनले बताए।
एलाइन्सको ५११औँ गाडी बिर्तामोडका निताईसिंह राजवंशीले खरिद गरेका हुन्। कार्यक्रममा उनलाई नयाँ भेन्युको चाबी हस्तान्तरण गरिएको थियो।
एलाइन्स मोटर्सका अर्का सञ्चालक ओम विमलीले कार्यक्रममा उपस्थित अतिथि तथा ग्राहकप्रति आभार व्यक्त गर्दै बिर्तामोड र आसपासका ग्राहकलाई गुणस्तरीय बिक्री तथा बिक्रीपछिको सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। हुन्डाईको आधिकारिक विवरणअनुसार बिर्तामोडस्थित एलाइन्स मोटर्स बिक्री केन्द्रका साथै हुन्डाईको सेवा केन्द्रका रूपमा समेत सूचीकृत छ।










































