झापा । झापाको मेचीनगरमा २ बर्ष बढी समयदेखि बेपत्ता रहेका एक पुरुषको हत्या गरी बंगुर फर्मभित्र गाडिएको आशंकामा जिल्ला प्रहरी कार्यालय झापाले दुई जनालाई पक्राउ गरेको छ।
ललितपुर महाङ्काल–१ का दिलनाथ बजगाईं २०८१ असोज २९ गते मेचीनगर–६ काँकडभिट्टाबाट बेपत्ता भएका थिए। उनकी श्रीमती तुलसा बुढा बजगांइले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका गुप्तबहादुर सिंहको बयानका आधारमा मेचीनगर–७ भान्सा खोला गैरीगाउँ स्थित बंगुर फर्ममा उत्खनन गर्दा जमिनमुनि गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा म्याग्दी घर भई हाल मेचीनगर नगरपालिका वडा नं १० बस्ने वर्ष ४५ का राम भन्ने गुप्तबहादुर सिंह र भारत जिल्ला आलेपुर विरपारा घर भई हाल मेचीनगर नगरपालिका वडा नं ८ बस्ने वर्ष ४९ का संजय लामा रहेका छन् । उक्त कंकाल करिब दुई वर्षदेखि बेपत्ता दिलनाथ बजगाईँको हुन सक्ने आशंका गरिएको छ ।
कङ्काल दिलनाथकै हो वा होइन भन्ने यकिन गर्न पोस्टमार्टम तथा डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न रहेको अभियोगमा मेचीनगर–१० का ४५ वर्षीय गुप्तबहादुर सिंह र मेचीनगर–८ का ४९ वर्षीय सञ्जय लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुवै जनामाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रुब्जन अवालेले जानकारी दिए।










































