झापाको बिर्तामोडस्थित एनके नेपाल ट्रेड एण्ड सप्लायर्स प्रालिले  पानी फिल्टर मेसिन प्यूरिफायर बिक्रीको आवरणमा २८ महिनादेखि अघोषित चिठ्ठा व्यवसाय सञ्चालन गरी हजारौँ ग्राहकलाई ठगी गरेको गम्भीर आरोप लागेको छ।

बुधबार बिर्तामोडको सिटी सेन्टरमा आयोजित २४ औँ बम्पर उपहार वितरण कार्यक्रममा कम्पनीले आफ्नै सम्झौता उल्लंघन गरेपछि ठूलो विवाद उत्पन्न भएको थियो। 

स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली नै परिचालन गर्नु परेको थियो।

कम्पनीले झापा, मोरङ र इलामका ९ हजार ९ सय ९९ जना ग्राहकबाट प्रतिव्यक्ति मासिक १,३५५ रुपैयाँका दरले २८ किस्तामा कुल ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गरेको पाइएको छ।

सम्झौताको बुँदा नं ५ अनुसार खाली हात रहेका ११ जना ग्राहकहरूमध्ये गोलाप्रथाबाट १० जनालाई मोटरसाइकल र स्कुटर र बाँकी १ जनालाई स्वतः ुकारु दिनुपर्ने नियम थियो। 

तर, फाइनल लक्की ड्रमा कम्पनीले नियम मिचेर धाँदली गर्न खोजेको ग्राहकहरूको आरोप छ।  आक्रोशित ग्राहकहरूले लक्की ड्रका लागि राखिएका टोकन नम्बरसहितका ४ थान गाग्री नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीलाई बुझाएका छन्।

पीडितको माग र अनुसन्धान र सयौँको संख्यामा उपस्थित पीडित ग्राहकहरूले प्रहरी कार्यालय पुगेर कम्पनीको वैधानिकता जाँच गर्न माग गर्दै निवेदन दिएका छन्। 

उनीहरूले नियम अनुसारको उपहार पाउनुपर्ने वा आफूले बुझाएको सम्पूर्ण रकम ब्याजसहित फिर्ता हुनुपर्ने अडान राखेका छन्। घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान अघि बढाएको छ।