झापा । झापाका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ।
झापामा सञ्चालनमा रहेका ४० अस्पतालमा १ हजार ७ सय ९० शय्या छन्। त्यसको १० प्रतिशतका आधारमा १७९ शय्या लक्षित वर्गका बिरामीका लागि निःशुल्क छुट्याउनुपर्नेछ।
प्रशासनका अनुसार हालसम्म ४० मध्ये १७ अस्पताल मात्र निःशुल्क शय्या तथा उपचारसम्बन्धी कार्यक्रममा आबद्ध छन्। बाँकी २३ अस्पताललाई पनि अनिवार्य रूपमा कार्यक्रममा जोडिन परिपत्र गरिएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सरकारी नीति तथा कार्यक्रम कागजमा सीमित नराखी वास्तविक सेवाग्राहीसम्म पुर्याउन अस्पतालको भूमिका महत्वपूर्ण रहेको बताए।
प्रशासनले निःशुल्क शय्या छुट्याउने मात्र नभई लक्षित बिरामीले वास्तवमै निःशुल्क उपचार पाए–नपाएको विषयमा समेत अनुगमन गर्ने जनाएको छ।
यो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकले झापाका सरकारी, निजी र सामुदायिक अस्पतालबाट निःशुल्क उपचार पाउने पहुँच विस्तार हुनेछ।










































