बिर्तामोड : झापामा पहिलोपल्ट डोरी तान प्रतियोगिता आयोजना गरिने भएको छ । आज मङ्लबार बिर्तामोडमा पत्रकार भेटघाट मार्फत झापा जिल्ला डोरी तान संघले प्रतियोगिता गर्न लागिएको जनाएको हो । 

पत्रकार भेटघाटमा संघकी अध्यक्ष युनिता दवाडीले जिल्लामा संघ गठन भएको करिब छ महिनापछि यही कात्तिक २४ गते बिर्तामोड स्थित बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसको प्रांगणमा प्रतियोगिता गर्न लागिएको जानकारी दिइन् । 

उनले प्रथम जिल्लास्तरीय डोरीतान आउटडोर च्याम्पियनसिपमा १९ वटा टिमको सहभागिता रहने पनि बताइन् । 

प्रतियोगितामा झापामा १५ पालिका, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम तथा आयोजकको एक टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

उनले प्रतियोगितामा सहभागि हुन आउने खेलाडी सम्बन्धीत पालिकाकै सिफारिसमा आउनु पर्ने पनि उनले बताइन् ।  प्रतियोगिताको विजेता टिमले नगद ३१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र  उपविजेताले नगद २१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त  गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघको केन्द्रीय उपाध्यक्ष  सुवासश्री पोखरेल, संघकी केन्द्रिय सदस्य संगिता चिमरिया, कोशी प्रदेश अध्यक्ष रिता न्यौपाने, झापा सदस्य मेनुका उप्रेती,  रेफ्री सन्तोष तामाङलगायतको उपस्थिति रहेको थियो । 

नेपाल डेरी तान संघका केन्द्रीय उपाध्यक्ष  पोखरेलले पुरानो खेलमध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकतासँग जोडिएको खेल भए पनि राष्ट्रिय खेलकुद परिषद्का कारण ओझेललमा परेको बताए । 

उनले अहिले पनि राज्यको ध्यान डोरी तान खेलमा जान नसकेको कार्यक्रममा बताएका थिए  । कार्यक्रमको सञ्चालन संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौडेलले गरेकी थिइन् ।