बितामोड

झापाको कन्काई नगरमा प्रहरी उपरीक्षक (एसपी) ले चलाएको गाडीको ठक्करबाट एक जनाको ज्यान गएको  भने दुईजना घाइते भएका छन् ।

शुक्रबार ८ः३० बजे कनकाई नगरपालिका ८ स्थित विरिङ पुलमा संघीय प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक एसपी (५१ वर्षीय)  भीमबहादुर दाहालले चलाएको को १ च ७८३९ नं. को स्कोरपियोले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । एसपी आफंैले चलाएको गाडि र मोटरसाइकल एक आपसमा ठोक्एिको हो । 

मोटरसाइकलमा सवार ३ जना मध्ये २ जना तिब्र गतिको गाडिको ठक्करका कारण पुलमुनी खोलामा खसेका थिए । मोटरसाइकलको बिचमा  सवार कमल ६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पु¥याउनासाथ मृत्यु भएको प्रहरीको भनाई छ । 

tajpura pic 7888

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खगेन्द्र ताजपुरिया र दुर्घटनामा परेको एसपी दाहालले चलाएको गाडि 


त्यस्तै मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सो स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको मे १० प १६६९ नं. को पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालक कमल ६ बस्ने १९ वर्षीय खगेन्द्र ताजपुरिया र पछाडि सवार सोही ठाउँका १८ वर्षीय पूजन राजवंशी घाइते भएका छन् । मोटरसाइकल चालक ताजपुरिया सामान्य घाइते छन् भने राजवंशीको आइसियुमा उपचार भइरहेको छ । उनको शल्क्रीया समेत गरिएको बुझिएको छ । 

घाइते बाइक चालकले आफूहरु आफ्नै लेनबाट आइरहेको भए पनि स्कोरपियोले तिब्र गतिमा ओभरटेक गर्दा दुर्घटना भएको बताए । उनी दमक स्थित एक साउण्ड सिस्टममा कार्यरत छन् । उनी धुलाबारी स्थित मेलामा जाँदै थिए । उनीसंगै उनका दुई साथी घुम्नलाई भनेर गएका हुन् । 

स्कोरपियो र चालक प्रहरी उपरीक्षक दाहाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा छन् ।  दुर्घटना गराएपछि बिर्तामोडमा रहेका एसपी दाहाललाई भेट्न जिल्लाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीदेखि इप्रका कांकरभिट्टाका डिएसपी दिपक भारती , जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डिएसपी खगेन्द्र रिजाल लगायत पुगेका थिए । घटना पश्चात पटक पटक जिल्लाका सुरक्षा निकायका प्रमुखहरु निरन्तर यस बिषयमा  पटक पटक छलफलमा बसिरहेका छन् । 

स्रोतका अनुसार एसपी दाहालले अत्याधिक मदिरा सेवन गरेर गाडि चलाएका थिए । उनको साथमा एक किशोरी पनी रहेकी थिइन । स्थानीयले पनि दुर्घटनामा परेको स्कोरपिया अत्याधिक स्पिड रहेको जनाएका छन् । उनीहरुले पनि गाडिमा चालक एसपी संगै एक किशोरी सवार रहेको जनाएका छन् । 

सुचना   लुकाउने प्रयास 

दुर्घटना भएको सुचना प्राप्त भए पश्चात साझा अनलाइन न्यूजले प्रहरीलाई सोधेको थियो । तर प्रहरीले बताउन चाहेन । दुर्घटनाको बिषयमा सुचना माग्दा जिल्ला प्रहरी कार्यालय झापाले अनबिज्ञता प्रकट गरेको थियो । तर घटना बिभिन्न सञ्चार माध्यममा आएपछि मात्र प्रहरीले दुर्घटनाको बिषयमा जानकारी दिएको हो ।  तर अचम्म त के छ भने दुर्घटना भएको २४ घण्टा बित्तिसक्दा समेत जिल्ला प्रहरीले मेल समेत पठाएको छैन । 

एसपी दाहाललाई हाल डिएसपीको कमाण्डमा राखिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बांस्तोलले बताए । उनले सवारी दुर्घटना अनुसार मुद्धा चलेपछि मात्र कारवाहि अगाडि बढ्ने बताए । दुर्घटनाको कारणका बिषयमा जिज्ञासा राख्दा जिल्लामा सोध्न भने । 

यता इलाका बिर्तामोडका डिएसपी सुरज कार्कीले अहिले तिहारको बिदा भएकाले बिदा पश्चात कानुन बमोजिम कारवाही हुने बताए । उनका अनुसार मृतकका परिवारले शब बुझेर पोष्टमाटमकालागि भद्रपुर लगेका छन् । मृतकका परिवारले जाहेरी दिएको र प्रहरीले दर्ता गरिसकेको डिएसपी कार्कीको भनाई छ ।