झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको बिषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ झापाको ध्यानाकर्षण भएको छ ।

पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड ४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प छ । यसलाई लत्याएर सञ्चारकर्मीलाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै  प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य हो । स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीकोे सुरक्षामा विशेष ध्यान दिन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।