झापा बिर्तामोडका ढुवानी व्यवसायी निर्मल खत्रीले सामाजिक कार्यकालागि बचत संकलन अभियान चलाएका छन् । बिर्तामोड ५ स्थित शितल मार्केट स्थित भृकुटीरोडमा कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रा.लि.का सन्चालक खत्रीले बिगत १५ दिनदेखि कार्यालयमा बाकस राखेर बचत संकलन गर्दै आएका हुन् ।
यस बाकसमा कर्मचारीहरुले आफ्नो दैनिक खर्चबाट थोरै भएपनि रकम जम्मा गर्ने गरेका छन् । बाकसमा हाल दैनिक १ हजार रुपैयां बचत हुंदै आएको छ ।
रकम संकलन हुंदै आएको बाकस आगामी दशैं अगाडी खोलिने खत्रीले जानकारी दिए । त्यसबेला सम्ममा कम्तिमा ४ लाख रुपैयां संकलन गरिने र त्यो रकम सामाजिक कार्यमा खर्च गरिने अठोटका साथ अभियानको सुरुवात गरिएको खत्रीको भनाई छ ।
उक्त रकम दृष्टिबिहिन, अपांगता भएका व्यक्ति, गरिब, अनाथ, वृद्धा आश्रम र विपन्न तथा दुखीहरुकोलागि खर्च गरिने बताइएको छ ।
बाकस स्थापनाको समयमा २५ जना ट्रक चालकहरुले प्रति व्यक्ति ५ सय रुपैयांको दरले रकम संकलन गरेर जम्मा गरेका थिए । पूर्वेली ढुवानी सेवा प्रा.लि.मा अहिले ५४ जना कर्मचारी कार्यरत छन् ।










































