काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जीत हासिल गरेको छ । भारतको चेन्नईमा आज भएको खेलमा न्युजिल्यान्डले यूएईलाई १० विकेटले हरायो ।
यूएईले दिएको १ सय ७४ रनको लक्ष्य न्युजिल्यान्डले १५ ओभर २ बलमा एक विकेट पनि नगुमाई भेटायो । न्युजिल्यान्डका टिम साइफर्टले ८९ र फिन एलेनले ८४ रन बनाए । यो खेलमा साइफर्ट एलेनले १ सय ७५ रनको कीर्तिमानी साझेदारी गरे । टी–२० विश्वकपमा यो कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनायो । यूएईका कप्तान मोहम्मद वसीमले नटआउट ६६ रन बनाए । न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिए ।
यो जीतसँगै न्युजिल्यान्ड २ खेलमा ४ अङ्कसहित समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।
यस्तै आज भएको पहिलो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ । यो जीतसँगै नेदरल्यान्ड्स २ खेलमा २ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा छ । नामिबियाको यो पहिलो खेल हो । टी–२० विश्वकपमा अहिले बेलुकी सवा ७ बजे समूह ‘ए’ का पाकिस्तान र अमेरिका खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।










































