झापाको विर्तामोडमा स्थापित सिम्रिक वचत तथा ऋण सहकारी संस्था (सिम्रक साकोस) झापाको मात्र नभई देशकै अब्बल र अग्रणी सहकारी संस्थाको रुपमा स्थापित छ । 

झापा, इलाम र मोरङ जिल्लालाई सेवाक्षेत्र बनाएर सञ्चालन भइरहेको सिम्रिक साकोस आर्थिक संकटको वर्तमान जटिल अवस्थामा पनि सदस्यको मन जित्दै सफलतापूर्वक अघि बढिरहेको छ । 

स्थानीयस्तरमा निम्न वर्गीय नागरिकको आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यका साथ स्थापित सिम्रिक साकोसले आफ्ना सदस्यलाई उद्यमशीलतासँग जोड्ने अभियानलाई तीव्रता दिएको छ । 

बचत तथा ऋणको कार्यमा मात्र सीमित नरही सहकारीले सदस्यलाई स्वरोजगार बनाउन र आयआर्जनको अवसर सिर्जना गर्न विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाको  वार्षिक प्रतिवेदनले पनि स्पष्ट पारेको छ ।

pic simrik sakosh


सहकारीमार्फत सदस्यलाई कृषि, पशुपालन, लघु उद्यम, घरेलु उत्पादन, व्यापार–व्यवसाय प्रवद्र्धन तथा सीपमूलक तालिमसँग जोड्ने कार्य भइरहेको संस्थाले जनाएको छ । सदस्यको क्षमता र रुचिअनुसार उद्यम विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । साथै, आवश्यक लगानी, तालिम तथा प्राविधिक सहयोग प्रदान गरेर सदस्यलाई आत्मनिर्भर बनाउने काम पनि संस्थाले गरिरहेको संस्थाका कार्यकारी कमल बहादुर बस्नेतले जानकारी दिनुभयो ।  

सदस्यको आर्थिकस्तर उकास्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न योजना समेत संस्थाले अगाडि बढाएको जनाएको छ । यसरी उद्यममार्फत सदस्यको आम्दानी बृद्धि हुनुका साथै परिवारको जीवनस्तर सुधारमासकारात्मक प्रभाव परेको बताइन्छ ।

सिम्रिक साकोसले सदस्यलाई बचतकर्ता मात्र नभई सफल उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य राखेर आगामी दिनमा उद्यमशीलताका लागि थप कार्यक्रम सञ्चालन गर्ने संस्थाका कार्यकारी प्रमुख वस्नेत बताउनु हुन्छ ।

समाज विकास र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको सिम्रिक साकोसले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्राथमिकताका साथ निरन्तरता दिइरहेको छ ।  सदस्यको आर्थिक उत्थानसँगै समुदायको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिँदै आएको छ ।

सिम्रिक साकोसले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपन्न परिवारलाई सहयोग, रक्तदान कार्यक्रम, सरसफाइ अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ । यस्तो गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहकारी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मदत पुग्ने संस्थाका अध्यक्ष सुवास भट्टराई बताउनुहुन्छ । 

सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई समाज परिवर्तनको माध्यम पनि हो । समुदायको आवश्यकता पहिचान गरी सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्याउने उद्देश्यले आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । 

संस्थाको संस्थाको यस्तो सक्रियताले समाजमा सहयोग, सद्भाव र सामाजिक एकताको भावनासमेत बलियो बन्दै गएको संस्थाका सदस्यहरुले बताएका छन् ।

संस्थाले आर्थिक वर्ष ०८२÷०८३ मा सामाजिक उत्तरदायित्वअन्तर्गत ८ लाख ९८ हजार २४ रुपैयाँ खर्च गरेको छ । यसअन्तर्गत सामुदायिक विद्यालयहरुका विपन्न विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण, भौतिक सामग्री वितरण, सुरक्षा निकायहरुलाई आवश्यक भौतिक सामग्री, विभिन्न आश्रममा खाद्यान्न तथा आवश्यक भौतिक सामग्री उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी, सिम्रिकले सदस्यप्रतिको सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले मृत्यु भएका आफ्ना सदस्यको ऋण मिनाहा गरेको छ । सदस्यको परिवारलाई आर्थिक भार कम गर्ने उद्देश्यले सहकारीले यस्तो निर्णय गरेको जनाएको छ ।

संस्थाले सदस्यको निधनपछि परिवार आर्थिक तथा मानसिक समस्यामा पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै ऋण मिनाहा गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ । सहकारीले आफ्नो नीति तथा नियमअनुसार आवश्यक प्रक्रिया पूरा गरी सदस्यको बाँकी रहेको ऋण रकम मिनाहा गर्ने गरिएको छ ।

यसअन्तर्गत संस्थाले आर्थिक वर्ष ०८२÷०८३ को हालसम्म सदस्यको घातक तथा साधारण रोग उपचार, शल्यक्रिया,  मृत्यु राहत, कर्जा मिनाहा, प्राकृतिक विपत्तिमा सहयोग, मानो–चामल÷समवेदना, आर्थिक सहयोगलगायत साबुन, कपुरधूप, फिनेल बनाउने तालिक एवम् सदस्य भ्रमण कार्यक्रममा दुई करोड चार लाख ६३ हजार ६७६ रुपैयाँ खर्च गरिसकेको कोषाध्यक्ष मेहरमान बिष्टले जानकारी दिनुभयो । 

संस्थाले सदस्यको हितलाई केन्द्रमा राखेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै संस्थाका अध्यक्ष सुवास भट्टराईले आगामी दिनमा पनि सदस्यमैत्री कार्यक्रमलाई निरन्तरता दिइने बताउनुहुन्छ । 

सहकारीको यो कदमले सदस्य तथा स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सदस्यको दुःखमा साथ दिने सहकारीको कार्यको प्रशंसा पनि भइरहेको छ ।