झापा  : आर्थिक अभावका कारण उपचार हुन नसेका झापा गाउंपालिकाका एक युवकको दाताहरुको सहयोगमा उपचार गरिएको छ । 

झापा गाउँपालिका वडा नम्बर ७ मदरगाछका ३८ बर्षिय राजकुमार गणेशको आर्थिक अवस्था नाजुक भएकै कारण लामो सयम सम्म उपचार हुन सकेको थिएन । 

उनको उपचारकालागि स्थानीय युवा काजी राउतको संयोजकत्वमा ‘राजकुमार गणेश बचाउ अभियान’ सञ्चालन गरिएको थियो । त्यस पश्चात संकलित रकमबाट उनको बिर्तामोड स्थित कन्काई अस्पतालमा उपचार गरिएको हो । 

विगत १८ महिनादेखि घुडाको ट्युमरबाट पीडित गणेशको उपचारकालागि कन्काई अस्पतालसंग समन्वय गरिएको राउतले बताए । करिव २ लाख रुपैयाँ आर्थिक संकलन गरी अस्पतालमा भर्ना गरिएको संयोजक राउतको भनाई छ ।  

उनको अस्पतालले निःशुल्क घुडामा भएको  ट्युमरको  अप्रेशन गरिदिएको राउतले जानकारी दिए ।  दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका गणेशको उपचारमा सहुलियत प्रदान गरेको अस्पतालले आज मङ्लबार पत्रकार भेटघाटमा जनाएको हो ।  

पुस १७ गते हस्पिटलमा भर्ना भएका गणेशको घुडामा भएको  ट्युमरको शल्यक्रिया भइसकेको र उनी पूर्ण रुपमा निको हुन भने केहि समय लाग्ने बताइएको छ । अर्थोपेडिक्स सर्जन डा. प्रेमबहादुर शाहीले उनको शल्क्रीय गरेका हुन् ।  

दयनिय अवस्थाका गणेशको अवस्था देखेर  हस्पिटलले निःशुल्क शल्यक्रिया र औषधीमा सहुलियत प्रदान गरेको अस्पतालका सञ्चालकद्धय युवराज डाँगी र सञ्चालक खेमराज बाँनियाले जानकारी दिए । 

अभियानका सदस्य सुभास डाँगी र सहयोगी तथा समाजसेवी टहलदास ओलीले अस्पतालले गणेशको उपचारमा सहजता प्रदान गरेको भन्दै अस्पताललाई धन्यवाद ज्ञापन गरेका थिए । 

बिरामीकी आमा सुबकला गणेशले पनि छोराको उपचारमा संलग्न डा. शाहीको टिम तथा  अभियानकर्मी र हस्पिटल परिवारले सहयोग गरेको भन्दै खुसी ब्यक्त गरेकी थिइन् ।