बाह्दशी : झापाको बाहदशी गाउँपालिकाका एक युवाको आर्थिक अभाव कारण उपचारमा समस्या भएको छ । ब्लड क्यानसर रोगबाट पीडित बाहदशी–६ स्थित कांक्रामारीका ३० बर्षिय जयनारायण ढकालको उपचारमा समस्या भएको हो ।
बीरामी ढकाल हाल बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा केहि समयदेखि उपचार गराइरहेका छन् । उनको उपचारमा अहिलेसम्म ५ लाख रुपैयाँ खर्च भइसकेको पारिवारले जनाएको छ ।
३ बर्ष अघि बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका उनी विरामी भएपछि केहि समय अघि नेपाल फर्किएका थिए ।
बिरामी भएर आएका ढकालले काठमाडौं स्थित महाराजगञ्जमा रहेको त्रिबी शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरेका थिए ।
त्यस क्रममा उनलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । उनले त्यहां पनि ४ लाख रुपैयाँ खर्च गरेको उनकी श्रीमती जमुना भट्टराई ढकालले जानकारी दिइन् ।
ढकालको उपचारमा अहिले आर्थिक अभाव भएपछि समस्या भएको श्रीमती ढकालले बताइन् । विदेश गएको केहि समयमा नै कोभिडका कारण काम नपाएपछि बेरोजगार बनेका ढकालले केहि कमाएको रकम पनि उपचारमा सकेका छन् । उनको उपचारकालागि अहिले गाउंले, साथीभाईहरुले चन्दा संकलन गरिरहेका छन् ।
पूर्वाञ्चल क्यानसर अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले भारतको दिल्ली लान सुझाब दिएको उनकी श्रीमतीले जानकारी दिइन । चिकित्सकको भनाई उद्धत गर्दै उनकी श्रीमती जमुनाका अनुसार उनको उपचार गर्न २५ लाख रुपैयाँ लाग्ने छ ।
बुढेसकालाको एक मात्र सहारा छोरो थलिएपछि उनका ७० बर्षिय बुबा चन्द्लाल ढकाल चिन्तित बनेका छन् । बृद्ध उनका बुबा घर नजिकै रहेको इटाभट्टामा मजदुरी गर्छन ।
सम्पत्तीमा नाममा ढकालको ३ कठ्ठा जग्गा छ । चार जना दिदीबहिनीका एक मात्र भाई ढकाल बिरामी भएपछि अहिले परिवारलाई दैनिक घरखर्च टार्न समस्या भएको छ ।
कमाउने छोरो बिरामी भएपछि ६६ बर्षिया आमा देबीमाया ढकाल छोरोलाई बचाइदिन सवैसँग हारगुहार गरिरहेकी छिन् । बिरामी ढकालको अढाई बर्षका एक छोरा छन् ।
यता क्यान्सरबाट थलिएका ढकालको अवस्था बारे जानकारी पाएसंगै झापाको बिर्तामोड–४ मा रहेको गंगामाया नरबहादुर बस्नेत, क्यान्सर पीडित सहयोग संस्थाले आर्थिक सहयोगका लागि अभियान सञ्चालन गर्ने जनाएको छ ।
विपन्न तथा अशक्तहरुको सेवामा बर्षौंदेखि खट्दै आएको संस्थाका अध्यक्ष भूपाल बस्नेतले आज (सोमबार) बिरामी ढकालको घरमै पत्रकार सम्मेलन गरी आर्थिक अभावका कारण उपचारमा समस्या भोगेका उनलाई सबैले सहयोग गर्नु पर्ने बताए ।
पैसाको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भनेर अभियान सञ्चालन गर्ने संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिए । उनले ढकालको उपचारमा सबैसंग सहयोग मागिने जानकारी दिए ।
उनले ढकालको उपचारका लागि सवैसँग सहयोगको अपिल गर्दै आफ्नो संस्थाले पनि सहयोग जुटाउन अभियान चलाउने बताएका हुन् ।
त्यसैगरी बाहदशी–६ का वडाध्यक्ष रत्नप्रकाश योङहाङले पनि ढकालको उपचारकामा सहयोग गरिदिन सबैलाई आग्रह गर्दै स्थानीय तहको तर्फबाट नियमानुसार सहयोग गर्ने आश्वासन दिएका छन् । उनले सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार बापतको एक लाख रुपैयाँ निकासाका लागि वडाबाट सिफारिस गरिएको बताए ।
ढकालको उपचारमा सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघ÷संस्थाहरुले सिदार्थ बैंक बिर्तामोड शाखामा रहेको बिरामीकी दिदि कमला कट्टेलको खाता नं. ०२२१५०६६६२७ मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।