बिर्तामोड  : झापाको बिर्तामोडबाट नक्कली नोटसहित दुई जना  पक्राउ परेका छन् । नेपालसहित विभिन्न देशका नक्कली नोटसहित 

बिर्तामोड नगरपालिका ४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुरिया र उनका भाइ १९ वर्षीय प्रविण ताजपुरिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरुको साथबाट नक्कली नेपाली नोटहरु एक हजारको काटेको ६० थान, एक हजारको नकाटेको २८ थान, पाँच सयको काटेको २ थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुको साथबाट  मोवाइल ४ थान, प्रतिबन्धित लागुऔषध नाइट्राजापेम २८ ट्यावलेट, मे. ५ प ९७९७ नम्बरको मोटरसाइकल, सक्कली नेपाली नोट ३ हजार र अन्य देशहरुको नोट ११ थान पनि प्रहरीले उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । 

उनीहरुलाई हिजो बुधबार साँझ ५ः३० बजे पक्राउ गरिएको हो । सुवास ताजपुरीयाको घर कोठाभित्र लागुऔषध छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा  प्रतिबन्धित लागुऔषध र नक्कली नेपाली तथा विदेशी नोटहरु बरामद गरेको हो । 

उनीहरुलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।