कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित पहिचानवादी समुहले बिराटनगरमा गरेको प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बु लाजेहाङको मृत्यु भएको छ । गत चैैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते भएका लिम्बुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको हो ।

४२ वर्षीय लिम्बु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर रहेका थिए । यसैबीच, कोशी प्रदेश नामाङ्कन खारेजीको माग गर्दै आन्दोलनरत् पहिचानवादी समुहले लिम्बुलाइ सहिद घोषणा गर्नुपर्ने माग गरेको छ ।

लिम्बुलाइ शहिद घोषणा गरी प्रदेशको पुनः नामकरणको माग गर्ने निर्णय संयुक्त सङ्घर्ष समितिले गरेको हो । आफूहरुको माग राज्यले सम्बोधन नगरेसम्म मृतकको शव नबुझ्ने र आन्दोलनलाइ सशक्त रुपमा अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । साथै समितिले प्रदेश एकका १४ वटै जिल्लामा र संघीय राजधानी काठमाडौंमा समेत विरोध सभा गर्ने निर्णय गरेको छ ।

समितिले लिम्बुको मृत्यु भएको घट्नाको छानबिन गर्न आयोग गठनको माग गर्दै संयुक्त राष्ट्रसङ्घ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि गरेको छ ।