राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन दुईमा आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न रहेको बताएका छन ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले आफूले यस पटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए । दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार प¥यो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष लामिछानेले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको प्रतिक्रिया समेत दिए ।


सभापति लामिछाने गत मंसिर ४ गते भएको संसदीय निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै विजयी भएका थिए । सर्वोच्च अदालतमा नागरिकता मुद्दामा अदालतले नागरिकता अवैध ठहर गरेसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ रिक्त भएको हो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए ।