बिर्तामोड  : राष्ट्रका लागि संगीत अभियात्रा अभियानले जनवादी कलाकारको सहभागिता विना कुनैपनि मेला तथा महोत्सव सञ्चालन नगर्न आग्रह गरेको छ ।  झापाको बिर्तामोडमा बिहीवार आज पत्रकार सम्मेलन गर्दै अभियात्राको टोलीले जनवादी कलाकारको सहभागिता विना कुनैपनि सार्वजनिक मेला महोत्सव सञ्चालन नगर्न अपिल गरेको हो ।

अभियात्राले छाडा खालका गीतले मेला महोत्सवमा प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई वेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न अपिल गरेको छ । सबै ठाउँमा आफूहरुको सहभागिता हुनुपर्ने अभियात्राको माग छ ।

अर्धनग्न नृत्य र छाडा गीत संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको जनवादी कलाकार जीवन शर्माले बताए । जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ । 

जनताको पक्षमा राज्यसत्ता नहुँदा जनताका कलाकारले वेवास्ताको शिकार हुनु परेकोले अब जनताले नै कलाकारको पक्षमा उचित निर्णय गर्ने दिन आएको शर्माले बताए । सोही अभियानकै क्रममा बिहीबार राष्ट्रका लागि संगीत अभियात्राको टोली झापा आइपुगेको छ । माओवादीनिकट जनवादी कलाकारको समूह अभियात्राका क्रममा बुधबार झापा आइपुगेको हो ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता छ । वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट अभियात्रा शुरु भएको थियो । अभियात्राको टोलीले झापाको बिर्तामोडस्थित सिटी सेन्टरको साइ पार्टी प्यालेसमा चैत २५ गते दिउँसो १ बजे आफ्नो साङ्गीतिक प्रस्तुतिको आयोजना गरेको जनाइएको छ ।