साता अघि आएको असिनापानी तथा  हावाहुरीका कारण बालीनालीमा क्षति व्यहोरेका पीडितलाई झापाको कनकाई नगरपालिकाले क्षतिपुर्ति दिने जनाएको छ । 

गत चैत १७ गते साँझ असिना सहित परेको पानी तथा हावाहुरीकारण नगरभित्रका बिभिन्न वडाका किसानले लगाएको मकै, तरकारी लगायतका बालीमा नोक्सानी भएको थियो । भने केहि वडाबासीको घरमा समेत असिनाले टिनको छानो छेडेको थियो । 

त्यही नोक्सानीको  यकिन विवरणका लागि वडागत रुपमा प्राविधिक परिचालन गरिएको र त्यस पश्चात  अनुगमन प्रतिवेदनका आधारमा नगरले क्षतिपूर्ति दिने नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । 

क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउने भएको छ ।  वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको प्रतिवेदन र वडाले आवश्यकता र क्षतिको अवस्था हेरेर  बढिमा १० हजार वा सो बराबरको जस्तापात विधि अनुसार खरिद गरी उपलब्ध गराउने  निर्णय भएको नगर प्रमुख  पोखरेलले जानकारी दिए । 

असिना पानीका कारण ठुलो क्षत्ति भए पनि राहत नपाएको गुनासो गर्दै आएका किसानले नगरको यो निर्णयको स्वागत गरेका छन् ।