शिवसताक्षी : झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनी स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधै भन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए ।
ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूलब्याग, जुत्ता, मोजा, टाई र बेल्टप्रदान गरेर अभिभावकलाई समेत खुसीतूल्याएको थियो ।
यति मात्र होइन, कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तिम परीक्षामा प्राप्त गरेको अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्सेनी वितरण गर्ने पुरस्कार पनि शुक्रबार नै प्रदान गरिएको थियो ।
दुई वटै कार्यक्रमहरु विद्यालयको शैक्षिक उन्नयनकालागि जनप्रतिनिधि र समुदायका अगुवाहरुको रचनात्मक पहलको प्रतिफल थियो ।
विष्णु–लक्ष्मी सिटौला कोषकाप्रमुख संरक्षक नरेन्द्रप्रकाश सिटौलाको अध्यक्षता तथा शिवसताक्षी नगरपालिका वडा नं. ५ का अध्यक्ष सिकिन पासवानको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
विद्यालयका शिक्षक राजन प्रसाद निरौलाले सञ्चालन गरेको सो कार्यक्रममा वडाध्यक्ष पासवानले आफ्नो वडाका सबै विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट बनाउने प्रयासमा रहेको बताए।