झापाको बिर्तामोड ५ स्थित नगरको स्वामित्वमा रहेको देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुलाई व्यवस्थापन गरेर मात्र नगरले त्यहांबाट हटाउनु पर्ने बिभिन्न राजनीतिक दलले बताएका छन् ।
लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई विगत दुई महिनादेखि नगरले बहुतले भवन बनाउने भन्दै पटक–पटक सूचना जारी गरेर ब्यवसाय हटाउन निर्देशन दिएपछि व्यवासायीहरु त्रसित भएको भन्दै राजनीतिक दलले उनीहरुको व्यवस्थापन संगै सोहि ठाउंमा भवन बनेपछि व्यवसाय गर्न पाउनु पर्ने ग्यारेन्टी नगरले गर्नु पर्ने बताएका हुन् ।
नगरपालिकाले उक्त ठाँउमा टिडिएफ लगानी मार्फत ऋण लगानीमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भन्दै आकस्मिक रुपमा ३५, १५, १० र ३ दिने सुचना प्रकाशित गरिरहेकाले आफुहरु आतंकित तथा त्रसित भएको ब्यवसायीहरुको पनि भनाई छ ।
उक्त स्थानमा २१० ब्यापारीहरु व्यवसाय गर्दै आएको जनाइएको छ । ब्यापारीहरुले हाल देशको विषम आर्थिक अवस्था र सम्पूर्ण व्यवसायहरु धरायासी भईरहेको अवस्थामा नगरपालिकाले व्यवसायिहरुको रोजीरोटी माथी प्रहार गर्ने कुचेष्टा गरेमा उत्पन्न हुन सक्ने जटील परिस्थितिको जिम्मेवार नगरपालिका हुनुपर्ने समेत पत्रकार सम्मेलनमा पिडित व्यवसायीहरुले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा (एकीकृत) समाजवादी नगर अध्यक्ष श्रीप्रसाद सिटौला, रास्पाका नगर अध्यक्ष शम्भू भण्डारीलगायतले सो कुरा बताएका हुन् । विकास विरोधि नभएको भन्दै उनीहरुले व्यवासीहरुको माग सम्बोधन गरेर भवन बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिर्तामोडमा जानकार हर्कलाल गिरी, बिर्तामोड उद्योगा बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, माओवादी नगर सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो ।