नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार भएका नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको खोजी जारी छ ।
यसै क्रममा रायमाझीको खोजी गरिरकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न संसद सचिवालयको सीसीटिभी फुटेज लिएर गएको छ । वैशाख २५ गते रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।
संघीय संसद सचिवालयले सिआइबीले बैशाख २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटिभी फुटेज लगेको जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएदेखि रायमाझी फरार छन् । उनलाई नेकपा एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ ।