खोटाङको शुभम फाउन्डेशनका सञ्चालक मदन राई पक्राउ परेका छन् । फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिइएको जानकारी दिए । कृषिविज्ञका रूपमा परिचित ७५ वर्षीय राईले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।
फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुव्र्यवहार गरेको सामाग्री सेतोपाटी अनलाइनले सार्वजनिक गरेको थियो । अनलाइनले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको, चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको सुनिएको छ ।
प्रहरीका एक जना पीडित समेत प्रहरीको सम्पर्कमा आएका छन भने अरुसँग सोधपुछ भैरहेको छ । बैकल्पिक शिक्षाको नारा सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको फाउन्डेशनमा डेढ सय विद्यार्थी अध्ययन गर्दै आएका छन ।