राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले पनि २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्न माग गरेको छ । 

राप्रपाले आज शुक्रबार झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत प्रधानमन्त्रीलाई सम्पत्ति छानबिन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । 

विगतका ठुलठुला भ्रष्टाचार काण्डका फायलहरू खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्न माग गरेको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबैमाथि छानबिन तथा कारबाहीको मागसहितको  ज्ञापन पत्र बुझाइएको हो । 

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद अम्बरबहादुर विष्ट , केन्द्रीय सदस्य अन्जरा आलम , प्रदेश सांसद निमसरी राजवंशी , प्रदेश सदस्य रामकुमार सिंह राजवंशी , जिल्ला अध्यक्ष केशव ओझा, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राई, राप्रपाको बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल लगायतले संयुक्त ज्ञापन पत्र बुझाएका थिए । 

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनुअघि विद्युत् प्राधिकरणको कार्यालयबाट शुरु भएको ¥यालीले भ्रष्टाचारविरुद्ध नाराबाजी गरेको थियो । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।