बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको  आसन्न निर्वाचनको मिति नजिएसंगै  स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । 

आज शनिबार पत्रकार भेटघाट गरि स्वतन्त्र प्रगतिशील प्यानलले  उम्मेद्वार घोषणा गरेको हो ।  प्यानलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले  संयुक्त रुपमा प्यानल खडा गरी अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल र  कोषाध्यक्षमा विनिता राजवंशीलाई अघि सारेको हो ।   

  त्यस्तै खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगानाले उम्मेद्वारी घोषणा गरेका हुन् । 

स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  उम्मेद्वारी घोषणासँगै भोलि (आइतवार) उम्मेदवारी मनोनयन दर्ताका गरिने जनाइएके छ । 

अध्यक्षका उम्मेदवार देबेन्द्र सिटौलाले संस्थाको नेतृत्व आफ्नो टिमले गर्ने अवसर पाए हाल कायम रहेको नयां धारा जडान शुल्क सहित तथा मासिक महशुल शुल्क घटाउने जनाएका छन् । उनले हाल कायम  नयाँ मिटर जडान शुल्क १३ हजार रहेको बताउंदै जितेको खण्डमा ९ हजार रुपैयाँ झार्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

अन्य उम्मेदवारले पत्रकार भेटघाटमा बोल्दै पानीको गुणस्तरीयता कायम गर्ने, सार्वजनिक स्थानमा निशुल्क खानेपानीको ब्यवस्था गर्ने लगायतका प्रतिबद्धता ब्यक्त गरेका थिए ।