झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ मा रहेको बुधबारे हटियाका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ । बुधबारे हटिया बजार क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरटहरा नगरपालिकाले आज सोमबार जेसीबी लगाएर भत्काएको हो ।
सार्वजनिक सम्पतिको अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन गरेपछि नगरपालिकाको स्वामित्वभित्र रहेको जग्गा खाली गराउन डोजर चलाएको हो ।
बहुउद्देश्यीय व्यवसायीक भवन बनाउनका लागि उक्त स्थान खाली गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले भने ३५ दिनेसहित पटकपटक सूचना जारी गरी पसल तथा टहरा खाली गराउन निर्देशन दिएको थियो । तर व्यवसायीले अटेर गरेपछि नगरले डोजर चलाएको हो ।
उक्त स्थानमा कपडा, जुत्ता–चप्पल, कस्मेटिक तथा पेय पदार्थका होटल थिए । व्यापारीले विकल्पबिना टहरा भत्काउन नदिने भन्दै केहीबेर जेसीबीलाई रोक्ने प्रयास गरेका थिए । उक्त क्रममा व्यापारी र स्थानीयले ढुंगा प्रहार गर्दा एउटा जेसीबीको सीसाहरु फुटेको छ । घरटहरा भत्काउन नगरपालिकाले १० वटा जेसीबी प्रयोग गरेको थियो ।