बिर्तामोड : झापाको बिर्तामोड ५ स्थित देवी हाटमा नगरपालिकाले सोमबार टहरा हटाउन डोजर चलाएको घटनाप्रति नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालले आपत्ति प्रकट गरेको छ ।
युनिकमका केन्द्रीय अध्यक्ष गजेन्द्र वहादुर पौडेलले एक विज्ञप्ति जारी गर्दै डोजर लगाइएसंगै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
‘पौडलद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको उल्लेख छ ।
सार्वजनिक सरोकारका मुद्दाहरुमा विषय र परिस्थितिको संवेदनशीलतालाई गहन ढंगले मनन गरेर अघि बढ्न नगरपालिकालाई युनिकमले सुझाव समेत दिएको छ ।
बुधबारे हटिया बजार क्षेत्रमा वर्षौंदेखि अव्यवस्थित रुपमा रहेका घरटहरा नगरपालिकाले जेसीबी लगाएर भत्काएको थियो । उक्त स्थानमा कपडा, जुत्ता–चप्पल, कस्मेटिक तथा पेय पदार्थका होटल थिए ।