राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजिक एक कार्यक्रममा अध्यक्ष लिङ्देनले देशको स्थायित्वका लागि प्रदेश र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको आरोप समेत लगाए । उनले नेपाली सेनाको योगदानलाई बिर्सिन नहुने बताउँदै अझै सशक्त, आधुनिक र हतियारसम्पन्न सेना बनाउनुपर्ने बताए ।

अध्यक्ष लिङ्देनले सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान जरैसम्म पुग्ने गरी गर्नुपर्ने बताए । उनले सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग नबनाए १५ गते बस्ने प्रतिनिधि सभामा बिरोध गर्ने चेतावनी पनि दिए ।