झापा : झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दशैंको सम्मुखमा विभिन्न किराना तथा मासु पसलहरुमा अनुगमन गरेको भद्रपुर नगरपालिकाले तिहार नजिकिँदै जाँदा मुख्य रुपमा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ ।

उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा धेरै होटलहरुबाट बासी मिठाइहरु बरामद गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख सुशील कर्णले जानकारी दिए । केही होटलहरुले सरसफाइमा पनि ध्यान नदिएको पाइएकोले अनुगमन टोलीले सचेत गराएको उनले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र वस्ती, गुणस्तर तथा नापतौल कार्यालयका अधिकृत अजितकुमार कर्ण, कामिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्क लिम्बू नगरपालिकाको कानून शाखाका प्रमुख राजेन्द्रप्रसाद ढकाललगायतको टोलीले भद्रपुर बजारका होटलहरुको अनुगमन गरेको हो ।

अनुगमन टोलीले भद्रपुर ६ स्थित मुस्कान फुड एण्ड स्विट्स हाउस, क्वालिटी स्विट्स, विशाल खाजा घर, सोनु फास्टफुड एण्ड रेष्टुरेन्ट, कल्पना फुडल्याण्ड, रिया फास्टफुड, भद्रपुर ५ को ए वान फास्टफुड, भाउजु होटल एण्ड नेवारी खाजा घर, अंकित खाजा घर, भद्रपुर ४

को लखी होटल, ब्रदर्स बेकरी, भद्रपुर ८ को बाबा मिष्ठान्न भण्डार, भद्रपुर ७ को मनिको होटल, लक्ष्मी मिष्ठान्न भण्डार, माँ सन्तोषी मिष्ठान्न भण्डार, पशुपति होटल र भद्रपुर १० को राजवंशी होटलको अनुगमन गरेको थियो ।

बजारमा अनुगमनलाई निरन्तरता दिइने संयोजक कार्कीले जानकारी दिइन् ।