बिर्तामोड । टाईब्रेकरमा भाग्यमामनी सावित हुदै एपिएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा बिजयी भएको छ । संकटा क्लब काठमाण्डौलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले मात्र जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार बिपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार बारमा लागेर फर्कियो ।   

खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले बिफल बनाए । २४ औं मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोष्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो ।

५५ औं मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कढा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाए । ७६ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरियो । अतिरिक्त समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कढा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बताए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए ।

खेलको म्यान अफ द म्याच एपिएफका एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

प्रतियोगिताको बिजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन् । आईतबारको खेल नेपाल पुलिस क्लब र लिग बिजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौबीच हुने आयोजकले जनाएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल  फागुन २८ गते हुने छ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।